बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढः गृहमन्त्री अर्याल

सोमबार, मंसिर २९ २०८२

गण्डकी  । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउन सरकार दृढ रहेको बताएका छन्। पोखरामा आज आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले निर्वाचन सुनिश्चित गर्न एकीकृत सुरक्षा योजना निर्माणसँगै व्यवस्थापकीय तयारीमा सरकार जुटेको जानकारी दिए ।

उनले भने, “वर्तमान सरकार निर्वाचन गराउनकै लागि गठन भएको हो। तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरेर नयाँ निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु अहिलेको सरकारको प्रमुख जिम्मेवारी हो। निर्वाचनको कार्यतालिका पनि सार्वजनिक भइसकेको छ, फागुन २१ मै निर्वाचन सम्पन्न हुन्छ।”

निर्वाचनका लागि विश्वासको वातावरण सृजना गर्न राजनीतिक दल र सरोकारवालासँग सरकार वार्ता र संवादमा लागिरहेको गृहमन्त्री अर्यालले जानकारी दिए। उनले प्रदेश तथा जिल्लास्तरमा सुरक्षा अवस्थाको विश्लेषण गरी निर्वाचन सुरक्षा रणनीति तय गरिने र एकीकृत सुरक्षा योजना लागू गरिएको पनि बताए ।

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये ७० प्रतिशतलाई कारागार फर्काइएको र लुटिएका हतियार फिर्ता हुने क्रम जारी रहेको गृहमन्त्री अर्यालले उल्लेख गरे। “जेनजी आन्दोलनपछि उत्पन्न सुरक्षा चुनौतीलाई सामान्य बनाउँदै मुलुकमा शान्ति र सुरक्षा सुनिश्चित गर्न सरकार गम्भीर छ,” उनले भने ।।

गृहमन्त्री अर्यालले निर्वाचन सफल बनाउन प्रदेश सरकारको महत्त्वपूर्ण भूमिका रहने पनि बताए। गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्चपदस्थ अधिकारीसहित गण्डकीका ११ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरू सहभागी छन्। गोष्ठीमा प्रदेशको सुरक्षा अवस्था विश्लेषण गरी भावी सुरक्षा रणनीति र कार्यदिशा तय गर्नेछ र निर्वाचन सुरक्षा योजना विषयमा पनि छलफल हुने गृह मन्त्रालयका सहसचिव गोविन्द रिजालले जानकारी दिए ।