बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सडक दुर्घटनामा परी रूपन्देहीका दुई जनाको मृत्यु

सोमबार, मंसिर २९ २०८२

 रूपन्देही  । सोमबार बिहान सडक दुर्घटनामा परी रूपन्देहीका दुई जनाको मृत्यु भएको छ। रूपन्देहीको भैरहवा–परासी सडकखण्डमा रोहिणी गाउँपालिका–३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रूपन्देही प्रहरी प्रवक्ता नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो।

दुर्घटनामा मृत्यु हुनेमा ओमसतिया गाउँपालिका–३ का २१ वर्षीय राजु हरिजन र सोही ठाउँका २३ वर्षीय रोहित यादव रहेका छन्। बिहान करिब ६ बजे परासीबाट भैरहवातर्फ आउँदै गरेको ग ११ प ८६२५ नम्बरको मोटरसाइकल रोकिरहेको एचआर ५५ डब्लु ०३१ नम्बरको भारतीय ट्रकमा ठोक्किएको थियो।

गम्भीर घाइते दुबै जनालाई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज पु¥याइए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाग्रस्त ट्रक र चालकलाई नियन्त्रणमा लिइसकेको छ र थप अनुसन्धान जारी रहेको छ।

त्यसैगरी, रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–३, दरखस्वामा करिब सवा ८ बजे स्थानीय बासिन्दाले जमेको पानीमा करिब ६५ वर्षीया एक महिलाको शव अर्धडुबेको अवस्थामा फेला पारेका छन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी सुरज कार्कीका अनुसार हाल मृतक महिलाको नाम, थर र ठेगाना पत्ता लागिसकेको छैन। घटनाको प्रकृति र मृत्युको कारण पत्ता लगाउन विशेषज्ञ टोली खटाइएको छ।