काठमाडौँ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका पूर्वनगर प्रमुख तथा विघटित संसद्को अर्थ समितिका सभापति सन्तोष चालिसेविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार चालिसेसहित उनका परिवारका सदस्यसमेत पाँच जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा दायर गरेको हो। आयोगका अनुसार चालिसेले ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको दाबी गरिएको छ।
आयोगले सन्तोष चालिसेसँगै उनकी श्रीमती मन्दिरा चालिसे, छोराहरू सञ्जीव र सागर चालिसे तथा बुहारी प्रमिला पोखरेललाई प्रतिवादी बनाएको छ। साथै उनीहरूको नाममा रहेको घर, जग्गा, सेयर लगानी तथा बैंक मौज्दातसमेत जफत गर्न मागदाबी गरिएको छ।
जफतको माग गरिएका सम्पत्तिमध्ये मन्दिरा चालिसेको नाममा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ को कित्ता नम्बर १५४ मा रहेको ४४२.५० वर्गमिटर क्षेत्रफलको साढे दुई तले घर, वडा नम्बर ८ को कित्ता नम्बर ७५ मा रहेको १५०.४० वर्गमिटर जग्गा रहेका छन्। सन्तोष चालिसेको नाममा वडा नम्बर ८ को कित्ता नम्बर १२० को १४३.०९ वर्गमिटर जग्गा जफत गर्न पनि आयोगले माग गरेको छ।
त्यसैगरी छोरा सागर चालिसेको नाममा गोकर्णेश्वर–९ को कित्ता नम्बर ७९ को ९५.३९ वर्गमिटर र वडा नम्बर ८ को कित्ता नम्बर ५ को २०६.६० वर्गमिटर जग्गा जफतको माग गरिएको छ। बुहारी प्रमिला पोखरेलको नाममा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ को कित्ता नम्बर ३४ मा रहेको ३,०५२.३२ वर्गमिटर जग्गा पनि जफत सूचीमा राखिएको छ।
यसका साथै गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा छोरा सागर चालिसेको कम्पनी ‘फुच्चु फनपार्क’ मा गरिएको १५ लाख रुपैयाँको सेयर लगानी र पुतलीसडकस्थित इन्जिनियरिङ एण्ड एजुकेसन जोन प्रालिमा रहेको १६ लाख ६६ हजार ६ सय रुपैयाँसमेत जफत गर्न माग गरिएको छ।
आयोगले अपुग बिगोको हकमा समेत सन्तोष चालिसेसहित उनका परिवारका सदस्यहरूको नाममा रहेको तथा हाल रोक्का गरिएको अन्य जग्गा जफत गर्न मागदाबी गरेको छ। यसअन्तर्गत श्रीमती मन्दिराको नाममा रहेको गोकर्णेश्वर–९ को कित्ता नम्बर १५४ को ४४२.५० वर्गमिटर जग्गा र छोरा सञ्जीव चालिसेको नाममा सुन्दरीजल क्षेत्रको ‘३ क’ कित्ता नम्बर २६५ मा रहेको १,५२३.२२ वर्गमिटर जग्गा पनि जफतको मागमा समावेश गरिएको छ।


