बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी, एक जनाको मृत्यु

सोमबार, मंसिर २९ २०८२

काठमाडौँ, २९ मङ्सिर । पछिल्लो २४ घण्टामा देशभर २५ वटा विपद्जन्य घटना घटेका छन्, जसमा सबैभन्दा बढी २२ वटा आगलागीका घटना रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेदेखि आइतबार बिहानसम्म यी घटनाहरू भएका हुन्।

प्राधिकरणका अनुसार कतै डढेलो लाग्दा त कतै भान्सामा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी भएको हो। विद्युत सर्ट, असावधानी तथा जनचेतनाको अभावका कारण पनि आगलागीका घटना बढेको विवरणमा उल्लेख छ। रौतहटमा तीन स्थानमा आगलागी भएको छ भने पाँचथर, झापा, कास्की र स्याङजामा दुई–दुई स्थानमा आगलागीका घटना भएका छन्।

यसैगरी मोरङ, भोजपुर, उदयपुर, सर्लाही, काठमाडौँ, रुपन्देही, दाङ, अछाम र दार्चुलामा एक–एक स्थानमा आगलागीका घटना भएका छन्। हिउँद याममा आगो ताप्ने, सलाइको काटी खेलाउने तथा धानको कुन्युमा केटाकेटी खेल्ने क्रममा समेत आगलागी भएको पाइएको प्राधिकरणले जनाएको छ।

काठमाडौँको दक्षिणकाली नगरपालिका–५ स्थित पुरानो दक्षिणकाली जंगलमा लागेको डढेलो इलाका प्रहरी कार्यालय फर्पिङको टोली र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। यस्तै, पाल्पामा पहिरो गएको छ भने मोरङका दुई स्थानमा जङ्गली हात्तीको आक्रमणका घटना भएका छन्। तीमध्ये सुन्दरहरैचा नगरपालिका–१२ मा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।

यी विपद्जन्य घटनामा परेर एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। घटनाबाट कूल ७२ लाख ९ सय रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको प्राधिकरणले जनाएको छ।