काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत आज केन्द्रीय समितिका लागि उम्मेदवार चयनको महत्वपूर्ण कार्यतालिका तय गरिएको छ। महाधिवेशनको बन्द सत्रमा उम्मेदवारका लागि दरखास्त फाराम वितरण, उम्मेदवारी मनोनयन तथा अन्तिम नामावली प्रकाशन हुने छ।
पार्टीको निर्वाचन समितिले तोकेको कार्यतालिकाअनुसार उम्मेदवार बन्न इच्छुकले बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म दरखास्त फाराम दर्ता गर्न सक्नेछन्। त्यसअघि केन्द्रीय निर्वाचन आयोगले बिहान १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने छ।
दिउँसो २ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिने छ। सोही समयदेखि ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। सबै प्रक्रिया सम्पन्न भएपछि साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ।
यसैबीच, केन्द्रीय समितिको निर्वाचनका लागि मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यतालिका छ।
गत शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन सत्र सम्पन्न भएको एमाले महाधिवेशनको बन्द सत्र आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ।