शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने प्रस्ताव लैजाने तयारी

आइतबार, मंसिर २८ २०८२

काठमाडौं । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय कमिटी दुवैको आकार बढाउने गरी विधान संशोधन प्रस्ताव अघि बढाउने तयारी गर्नुभएको छ । आइतबार बिहान ९ बजे बस्ने केन्द्रीय कमिटीको अन्तिम बैठकमा अध्यक्ष ओलीले सो प्रस्ताव पेश गर्ने तयारी रहेको एक पदाधिकारी तहका नेताले जानकारी दिएका छन् ।

ती नेताका अनुसार ओलीले पदाधिकारीको संख्या हालको १५ बाट बढाएर १९ पुर्‍याउने र केन्द्रीय कमिटीको आकार २५१ बाट बढाएर ३०१ सदस्यीय बनाउने प्रस्ताव लैजान लागेका छन् ।

यसअघि बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले विधान संशोधनमार्फत पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने प्रस्ताव राख्नुभएको थियो । तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले कडा प्रतिवाद गरेपछि उक्त प्रस्ताव सचिवालय बैठकबाट पारित हुन सकेन ।

पोखरेल समूहले विधान संशोधन गर्ने भए ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा पनि समेट्नुपर्ने अडान लिएको थियो । आफ्नै पक्षका केही नेताहरू पनि विपक्षमा उभिएपछि सचिवालय बैठकमा ओलीको प्रस्ताव असफल भएको थियो ।

सचिवालयबाट प्रस्ताव पारित हुन नसकेपछि अध्यक्ष ओलीले केन्द्रीय कमिटीमार्फत विधान संशोधन प्रस्ताव अघि बढाउन लाग्नुभएको हो । केन्द्रीय कमिटीमा ओली पक्षका दुई तिहाइभन्दा बढी सदस्य रहेकोले प्रस्ताव पारित गराउन सहज हुने आँकलन गरिएको छ ।

पार्टीभित्र आफ्नो पक्षमा पदाधिकारीका आकांक्षीहरूको संख्या बढ्दै गएपछि उनीहरूलाई व्यवस्थापन गर्न पदाधिकारी संख्या बढाउने रणनीतिका रूपमा यो प्रस्ताव अघि सारिएको नेताहरूको बुझाइ छ ।