शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

निर्वाचनमा ८१ दिन बाँकी रहँदा देशव्यापी चुनावी माहोल, दलहरूको गतिविधि तीव्र

आइतबार, मंसिर २८ २०८२

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन हुन अब मात्र ८१ दिन बाँकी रहँदा मुलुकमा क्रमशः चुनावी माहोल बन्न थालेको छ । निर्वाचन आयोग निर्वाचनका आवश्यक तयारीमा जुटिरहेको छ भने सरकार र राजनीतिक दलहरू पनि आ–आफ्ना गतिविधि तीव्र बनाइरहेका छन् ।

निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअन्तर्गत दल दर्ताको प्रक्रिया पूरा गरिसकेको छ । सरकारतर्फबाट निर्वाचन सफल बनाउन आवश्यक सहजीकरण र तयारी भइसकेको जनाइएको छ । यससँगै देशभर राजनीतिक गतिविधि बढ्दै गएका छन् । प्रमुख दलदेखि नयाँ दलसम्मले निर्वाचन केन्द्रित अभियान सुरु गरिसकेका छन् ।

नेपाली कांग्रेसले देशव्यापी रूपमा उम्मेदवार छनोट गरी केन्द्रमा पठाउने काम अगाडि बढाइसकेको छ । कांग्रेसले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवारसँगै राष्ट्रियसभा सदस्यका उम्मेदवारसमेत छनोट गरिरहेको छ । उम्मेदवार छनोट प्रक्रियामा कांग्रेस अन्य दलभन्दा अगाडि देखिएको छ ।

नेकपा (एमाले)को शनिबारदेखि ११औँ महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले दबाब र प्रतिशोधरहित वातावरणमा निष्पक्ष निर्वाचन भए एमालेले बहुमत ल्याउने दाबी गरेका छन् । उनले सरकारले स्वतन्त्र र निष्पक्ष निर्वाचनको वातावरण बनाउनुपर्ने धारणा राख्दै राजनीतिक दलका गतिविधिलाई प्रोत्साहित गर्न आग्रह गरेका थिए । एमालेले आयोगले तोकेको समयसीमाभित्र दल दर्तालगायतका सबै प्रक्रिया पूरा गरिसकेको जनाएको छ ।

विभिन्न कम्युनिस्ट पार्टी एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ‘सन्देशसभा’ का नाममा देशव्यापी निर्वाचन केन्द्रित गतिविधि तीव्र पारेको छ । सो पार्टीले धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरमा सन्देशसभा सम्पन्न गरिसकेको छ भने शनिबार सुर्खेतको वीरेन्द्रनगरमा जनसभा आयोजना गरेको थियो । आगामी पुस ५ गते काठमाडौँमा पनि सन्देशसभा गर्ने तयारी छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मितिमै निर्वाचन हुनुपर्ने स्पष्ट धारणा व्यक्त गर्दै त्यसका लागि पार्टी सक्रिय भइसकेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि निर्वाचनका लागि वाचापत्र निर्माणदेखि उम्मेदवार छनोटसम्मको प्रक्रिया अगाडि बढाइसकेको छ । सो पार्टीले समानुपातिकतर्फका उम्मेदवारका लागि आवेदन आह्वान गर्दै भेला र सभामार्फत निर्वाचन केन्द्रित गतिविधि सञ्चालन गरिरहेको छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया पनि अघि बढाएको छ । दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू र मुस्लिम समुदायका लागि छुट्टाछुट्टै प्रतिशत निर्धारण गरिने आयोगले जनाएको छ ।

समानुपातिक प्रणालीतर्फ कुल एक सय राजनीतिक दल सहभागी हुने भएका छन् । आयोगका अनुसार तीमध्ये दुई वा दुईभन्दा बढी दलले एउटै निर्वाचन चिह्न प्रयोग गर्ने गरी आवेदन दिएपछि कुल ९३ वटा निर्वाचन चिह्न कायम गरिएको छ । प्रत्यक्षतर्फ भने एक सय १४ राजनीतिक दल सहभागी हुँदैछन् ।

यसैबीच, निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार गरी सुझाव सङ्कलन गरिरहेको छ । निर्वाचन सुरक्षाका लागि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिइसकेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षा कायम गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन गृह मन्त्रालयले आवश्यक सबै तयारी पूरा गरिसकेको स्पष्ट पारेका छन् ।