काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनबाट भाग्छ भन्ने सोच कसैले पनि नगर्न आग्रह गरेका छन् ।
शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित पार्टीको ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले डर, दबाब र प्रतिशोधको छायाँबाट मुक्त निर्वाचन भए एमालेले बहुमत ल्याउने क्षमता राख्ने स्पष्ट पारे ।
अध्यक्ष ओलीले वर्तमान सरकार मुलुकमा निर्वाचन गराउने दिशामा अग्रसर नरहेको आरोप लगाउँदै प्रतिनिधिसभा तत्काल पुनःस्थापना हुनुपर्ने एमालेको स्पष्ट माग रहेको बताए। उनले देश संविधान र लोकतन्त्रको बाटोमा फर्किनुपर्ने उल्लेख गर्दै सरकारले फागुन २१ गते निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्नुपर्ने कार्यादेश पाएको स्मरण गराए ।
“चुनावको मिति तोकिएको छ, तर तयारी भएको देखिँदैन,” अध्यक्ष ओलीले भने, “चुनाव चाहने सरकारले सबै दलको विश्वास जित्थ्यो, निर्णयमा पारदर्शिता ल्याउँथ्यो, सभा–जुलुसका लागि खुला वातावरण बनाउँथ्यो र दलहरूलाई निर्वाचनमा सहभागी हुन प्रोत्साहित गर्थ्यो ।”
उनले निर्भय निर्वाचनका लागि आवश्यक वातावरण निर्माणमा सरकार असफल भएको जिकिर गर्दै लुटिएका हतियार फिर्ता ल्याउने, जेलबाट भागेका कैदीबन्दीलाई नियन्त्रणमा ल्याउने जस्ता आधारभूत कामसमेत नगरेको आरोप लगाए । वर्तमान अवस्थामा संवादको सट्टा निषेध, घृणा, मिडिया ट्रायल, हल्ला र राजनीतिक दलविरुद्ध षड्यन्त्र भइरहेको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले प्रतिस्पर्धाको सट्टा धम्की, बहसको सट्टा मुद्दा र राजनीतिक गतिविधिमाथि विभिन्न प्रकारका प्रतिबन्ध लगाएर निर्वाचनको वातावरण नबन्ने स्पष्ट गरे । “यस्तो अवस्थामा मतदानको स्वतन्त्रता सुरक्षित हुन्छ कि दबाब र आतंक बढ्छ ?” भन्दै उनले प्रश्न गरे ।
अध्यक्ष ओलीका अनुसार जनताको चाहना स्पष्ट छ—लोकतन्त्र, लोकतान्त्रिक प्रणाली र शान्तिपूर्ण वातावरणमा निष्पक्ष निर्वाचन । “डर, दबाब र प्रतिशोधबाट मुक्त चुनाव भयो भने एमाले चुनावबाट भाग्दैन,” उनले जोड दिँदै भने, “तर अहिले वास्तविक रूपमा चुनाव हुँदै छैन, देशलाई अलमल्याउन चुनावको कुरा मात्रै भइरहेको छ ।”
अध्यक्ष ओलीले सरकारले निर्वाचन गराउने दिशामा कुनै ठोस काम नगरेको दाबी दोहोर्याउँदै लोकतान्त्रिक विधिबाटै देशको निकास खोज्नुपर्ने आवश्यकता औँल्याए ।