बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

धनुषामा गोली प्रहार गरी लुटपाट गर्ने समूहका एक सदस्य पक्राउ

मंगलबार, असार ३१ २०७६

काठमाडौं । धनुषामा गोली प्रहार गरी लुटपाट गर्ने समूहका एक सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन २५ गते २ बजे राति गोली प्रहार गरी लुटपाट गर्ने गिरोहका सदस्य पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सर्लाहीको साविकको नोकैलबा गाविस(६ का ४९ वर्षीय गनेरु माझी छन्। उनलाई धनुषा प्रहरीले ढल्केबरबाट पक्राउ गरेको हो। माझीमाथि अहिले इलाका प्रहरी कार्यालय ढल्केबरबाट अनुसन्धान भइरहेको छ।

माझीसहितको १०र१२ जनाको समूहले धनुषाको मिथिला नगरपालिका ८, जमुनीबासस्थित पुष्पलाल श्रेष्ठका ४ दाजुभाइहरुको घरमा लुटपाट गरेका थिए।

सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि नै सर्लाहीको चन्द्रनगर गाउँपालिका(६ का ३६ वर्षीय देवलाल कापड र  मनोज कुमार कुशवाहा पक्राउ परिसकेका छन्।

कापड डाँका तथा हातहतियार खरखजना मुद्दामा इलाका प्रहरी कार्यालय बर्दिवास, महोत्तरीको हिरासतमा छन्।

अर्का प्रतिवादी कुशवाहा गत जेठ २५ गते धनुषाको बटेश्वर गाउँपालिका(१, चित्रपुर खोलाबाट अवैध ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गर्न आएका बेला पक्राउ परेका थिए। त्यसबेला उनको साथबाट स्वचालित पेस्तोल बरामद भएको थियो। हातहतियार तथा खरखजाना मुद्दामा उनलाई पुर्पक्षका लागि उनी धनुषा कारागारमा छन्।

उनीहरुले पुष्पलाल श्रेष्ठका दाजुभाइहरु कृष्ण, नवराज र चन्द्रको घर लुटपाट गरेका थिए। पुष्पलालको कोठाबाट नगद ५६ हजार, ३ तोला सुन, १५ तोला चाँदी, ओपो कम्पनीको ४० हजार पर्ने मोबाइल १ थान लुटेका थिए।

कृष्णको घरबाट नगद ३४ हजार, डेढ तोला सुन, १८ तोला चाँदी र २ थान मोबाइल, नवराजको घरबाट नगद १ लाख ३० हजार, २ तोला सुन, १६ तोला चाँदी, मोबाइल २ थान र चन्द्रको घरबाट नगद ३० हजार ७ तोला चाँदी मोबाइल सेट थान–१ र जग्गा जमिनको लालपुर्जा, नागरिकता, सवारी दर्ता किताब समेतका महत्वपूर्ण कागजातहरु समेत लुटेका थिए।

लुटेराको समूहले पेस्तोल, खुकुरी र लाठ्ठीहरु प्रयोग गरेर लुटेका थिए। प्रहरीले घटनास्थलबाट पेस्तोलबाट फायर भएको गोलीको खोका १ थान, ३ सय ३ राइफलमा प्रयोग हुने लाइभ राउन्ड गोली १ थान, बम बनाउनमा प्रयोग हुने बारुदको जस्तो गन्ध आउने खैरो रङको धूलो बरामद गरेको थियो।

बरामद भएको स्वचालित हतियारसमेत र पुष्पलाल श्रेष्ठको घरमा डाँका भएको घटनास्थलबाट बरामद भएको गोलीको खोका थान–१ समेत परीक्षणको लागि पठाइएको थियो।

प्रतिवादी कुशवाहाको साथबाट बरामद भएको पेस्तोलबाटै सो खोका फायर भएको भनी केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला सामाखुशीबाट परीक्षण रिपोर्टसमेत प्राप्त भएको प्रहरीले जनाएको छ।

लुटपाट गरेर भाग्न लाग्दा डाँका समूहका एक सदस्यलाई पुष्पलाल श्रेष्ठले समात्न खोजेपछि उनीमाथि गोली प्रहार भएको थियो। डाँकाले फायर गरेको १ राउन्ड गोली श्रेष्ठको पिठ्युँमा लागेको थियो।