शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले ११ औँ महाधिवेशन : केन्द्रीय सदस्यमा युवाहरुकाे आकांक्षा

बिहिबार, मंसिर २५ २०८२

काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने भएको छ।

दोस्रो विधान महाधिवेशनले कमिटीको संरचना १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव, ७ सचिवसहित १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी हुने तय गरेको छ। यसले महाधिवेशनमा तीव्र प्रतिस्पर्धा र नयाँ नेतृत्व निर्माणको सम्भावना बढाएको छ।

महाधिवेशनका लागि पार्टी भित्र आकांक्षीहरू खुल्न थालेका छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल बनाएर मैदानमा उत्रिने तयारी गरिसकेका छन् भने संस्थापन समूहमा अध्यक्ष ओली आफैं उठ्ने वा अन्य व्यक्तिलाई अगाडि सार्ने स्पष्ट छैन।

युवा नेताहरू पनि सक्रिय छन्। काभ्रेका अमित लामाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै युवा नेतृत्वलाई पार्टीमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। उनी संगठन विस्तार, युवा सक्रियता र व्यवसायिक दृष्टिकोणबाट पार्टीलाई थप सशक्त बनाउने योजना बनाइरहेका छन्।

संस्थापन समूहमा नजिक रहेका लामाले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटीमा ‘डेब्यु’ गर्न चाहेका हुन्।

होटल व्यवसायमा समेत सक्रिय रहेका काभ्रेका नेता लामा युवा संघ र पार्टी राजनीतिमा रहेर सक्रिय छन्। पोखरामा भएको महाधिवेशनबाट उनले युवा संघका वरिष्ठ उपाध्यक्षबाट बिदा लिएका थिए। उनी यस अगाडि काभ्रेको एमाले जिल्ला कमिटी सदस्य, बागमती प्रदेशका प्रदेश सदस्यमा रहेर पार्टीमा काम गरेका छन्।

उनले भने, ‘अहिले अध्यक्षमा केपी शर्मा ओलीको विकल्प छैन। तर केन्द्रीय कमिटीमा नयाँ युवा अनुहार ल्याउनुपर्छ। अण्डर ४० लाई पार्टी प्राथमिकता दिने विषय पनि उठेको छ। महाधिवेशनबाट सम्बोधन हुनुपर्छ।’

मुलुकको राष्ट्रियता, सार्वभौमिकता, अखण्डतालाई बलियो बनाउनका लागि पनि ओलीलाई नेतृत्वमा निरन्तरता आवश्यकता रहेको उनको भनाई छ।

बागमती प्रदेशका सांसद आनन्द श्रेष्ठले पनि केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने घोषणा गरेका छन्। विद्यार्थी राजनीति, जिल्ला र प्रदेश स्तरको अनुभव भएका श्रेष्ठले पार्टी र राष्ट्रलाई अगाडि बढाउने नेतृत्व चयनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

प्रगतिशील इन्जिनियर एसोसिएसनका अध्यक्ष डा. भेषराज थापाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। जलस्रोत, पूर्वाधार र नीति निर्माणमा लामो अनुभव भएका उनले युवा, पेशागत र विकासमुखी नेतृत्व आवश्यक रहेको बताए।

 यस्तै युवा संघबाट क्षितिज थेबेले पनि केन्द्रीय सदस्यको उम्मेदवारी दाबी गरेका छन्।

नेकपा एमालेको केन्द्रीय कमिटीमा युवा संघका अध्यक्ष क्षितिज थेबेले पनि दाबी गरेका छन्। महाधिवेशनमा युवा क्लटरबाटै प्रतिनिधि छनोट  संस्थापन निकट उनले महाधिवेशनबाट एमालेको केन्द्रीय सदस्य ‘डेब्यु’ गर्ने घोषणा गरेका हुन्।

एमालेको ११ औँ महाधिवेशनमा २,२६२ प्रतिनिधिले भाग लिने निश्चित छ। यस महाधिवेशनले पार्टीमा नयाँ अनुहार, पुस्तान्तरण र संस्थापनबीचको सन्तुलनका लागि निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।