काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआइजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पनि पेशी तोकिएको छ। यसअघि मंसिर ११ गतेका लागि तोकिएको पेशी लामिछाने पक्षका कानून व्यवसायीको अनुरोधमा स्थगित भएपछि आजका लागि मिति तोकिएको हो।
यद्यपि, पेशी तोकिए पनि इजलासमा मुद्दा चढ्ने–नचढ्ने टुंगो अझै लागेको छैन। सर्वोच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार बार एसोसिएसनको अधिवेशनका कारण सम्बन्धित पक्षका कानून व्यवसायीहरूले पेशी नचलाइदिन अनुरोध गरेका छन्। बारकै अनुरोधका आधारमा पेशी हटाउन सकिने अदालतले जनाएको छ।
बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराधको अभियोगमा थुनामा रहेका लामिछाने र जोशीका मुद्दाहरू कात्तिक १३ गतेपछि निरन्तर सारिँदै आएका छन्। सहकारीमा भएको अपचलनको आफ्नो हिस्सामा परेका बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनीहरूलाई रिहा गर्न अस्वीकार गरेको थियो। त्यसयता दुबैजनालाई पुर्पक्षका लागि हिरासतमै राखिएको छ।