काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता तथा अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेलले पार्टीको ११औँ महाधिवेशनमा पराजित भए पनि आफू र आफ्नो समूहले एमाले नछोड्ने स्पष्ट वक्तव्य दिएका छन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले प्रतिस्पर्धा लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएकाले परिणाम–जे भए पनि स्वीकार गर्ने परिपक्व राजनीतिक संस्कार विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्व नेताहरू माधवकुमार नेपाल र भीम रावलले पराजयपछि नयाँ पार्टी खोलेर गएको उदाहरण आफूहरूमा लागू नहुने दाबी गर्दै भने, “हामी प्रतिस्पर्धा गर्छौँ, जित्ने विश्वास छ। तर जितेनौँ भने पनि एमालेकै पक्षमा, एमालेकै रूपमा सधैँ रहन्छौँ। यसमा किञ्चित पनि तलमाथि हुँदैन।”
उनले प्रतिस्पर्धामा सहभागी हुनेहरूले जित र हार दुवैलाई समान रूपले स्वीकार गर्नुपर्ने मनोवृत्ति आवश्यक रहेको टिप्पणी गर्दै, नेपाली राजनीतिक संस्कारमा हार स्वीकार्न नसक्ने कमजोरी अझै देखिने गरेको उल्लेख गरे ।
पोखरेलले आफूहरूको प्रश्न अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व होइन, तर कार्यशैलीबारे रहेको स्पष्ट पार्दै महाधिवेशनले पार्टीलाई अधिक लोकतान्त्रिक, उत्तरदायी र संस्थागत रूपमा सुदृढ बनाउने विश्वास व्यक्त गरे ।