शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

युवा राजनीतिमा अगाडि आऊन् भन्ने हाम्रो इच्छा हो : प्रधानमन्त्री कार्की

बिहिबार, मंसिर २५ २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले सक्षम राजनीतिज्ञका रूपमा उदाउँदै देश नेतृत्व गरून् भन्ने सरकारको स्पष्ट इच्छा रहेको बताएकी छन्। सरकार र जेनजी समूहबीच सिंहदरबारमा बुधबार सम्पन्न भएको सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवालाई राष्ट्रिय राजनीतिक प्रणालीभित्र सक्रिय भूमिकामा देख्न चाहेको उल्लेख गरिन् ।

प्रधानमन्त्री कार्कीले एउटै दस्तावेजबाट सबैका माग र आकाङ्क्षा पूरा हुन नसक्ने स्पष्ट पार्दै सहमति भने देशको राजनीतिक यात्रामा ऐतिहासिक अभिलेखका रूपमा रहने विश्वास व्यक्त गरिन्। “हाम्रा युवाशक्तिहरू देशमै बसून्, रोजगारी गरून्, राम्रो राजनीतिज्ञ बनून् र भोलिको देश चलाउन सक्षम बनून् भन्ने हाम्रो इच्छा हो। तर एउटै कागजले सबैको चाहना पूरा गरिदिँदैन,” प्रधानमन्त्री कार्कीको भनाइ थियो।

सम्झौता नेपाल राजपत्रमा प्रकाशित हुने र त्यसपछि औपचारिक रूपमा कार्यान्वयन प्रक्रियामा प्रवेश गर्ने उनले जानकारी दिइन्।

यसैबीच, समारोहमा सहभागी केही जेनजी प्रतिनिधिले भने सहमतिको केही प्रावधानले आफूहरूको अपेक्षा पूरा नगरेको गुनासो सार्वजनिक गरेका छन्।