शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

वैदेशिक रोजगारीका बेथिति अन्त्य गर्न प्रधानमन्त्रीको निर्देशन

मंगलबार, मंसिर २३ २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायमा बढ्दै गएको अव्यवस्था, दलालको मनोमानी र श्रमिक शोषण तत्काल रोक्न मातहतका निकायलाई कडा निर्देशन दिएकी। विदेशिएका नेपाली कामदार दुःख पाउने, ठगिने वा अन्ततः सरकारले उद्धार गर्नुपर्ने अवस्थामाथि चासो व्यक्त गर्दै उनले सुरक्षित आप्रवासनका लागि ठोस प्रणाली विकास गर्न सम्बन्धित मन्त्रालयलाई आदेश दिइन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा वैदेशिक श्रमसम्बन्धी समस्यामा आयोजित छलफलका क्रममा उनले कुवेतमा अलपत्र परेका नेपाली महिला कामदारको छिटो उद्धार गर्न पनि सम्बन्धित अधिकारीलाई ताकेता गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले नीति तथा नियम निर्माण गर्दा वैदेशिक रोजगार व्यवसायी र दलालको फाइदा मात्र नभई श्रमिकको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।

उनले भनिन्-“म्यानपावर व्यवसायी मोटाउने काम नगरौँ। अलपत्र पार्ने अवस्था आउन दिनुहुन्न। म्यानपावरलाई कडाइका साथ सचेत गराउनुपर्छ।”

उनका अनुसार विदेश जाने कामदारले सम्बन्धित मुलुकको भाषा, कामको अभिमुखीकरण तथा अनिवार्य तालिम प्राप्त गरेपछि मात्र पठाउने व्यवस्था कडाइका साथ कार्यान्वयन हुनुपर्छ।

“वैदेशिक रोजगारीमा जानेले पनि पढ्नुपर्छ, तालिम लिनुपर्छ। राज्यले कर तिर्न लगाउँछ भने सुरक्षित आप्रवासन सुनिश्चित गर्नैपर्छ,” उनले थप भपिन्।

दलाल र म्यानपावर कम्पनीको मिलेमतोमा जनताको सोझोपन दुरुपयोग भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भनिन्—“दलालले आफ्नो फाइदामा उक्साउँछन्, गाउँका सोझा मान्छे ल्याउँछन्। ठूला म्यानपावर कम्पनीहरू र दलाल मिलेर जनतालाई ठग्ने काम बन्द हुनैपर्छ। यो अवस्था अन्त्य गर्न राज्यले नै कडा कदम चाल्नुपर्छ।”

छलफलमा कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, मुख्यसचिव सुमनराज अर्याल, श्रम, परराष्ट्र र कानुन मन्त्रालयका सचिवहरू तथा उच्च अधिकारीहरूको सहभागिता थियो।