बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आगामी मौद्रिक नीति मूल्यवृद्धि र तरलता व्यवस्थापनमा केन्द्रित हुने

मंगलबार, असार ३१ २०७६

काठमाडौं असार, ३१– नेपाल राष्ट्र बैंकले साउनको पहिलो सातामा मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । यो वर्षको मौद्रिक नीति तरलता व्यवस्थापन र मुद्रास्फिती नियन्त्रणमा बिशेष केन्द्रित रहने राष्ट्र बैंकले जनाएको छ ।

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा ६  प्रतिशतमा सिमित राख्ने लक्ष्य लिएको छ ।  सरकारको यहि लक्ष्य अनुरुप राष्ट्र बैंकले पनि आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गर्दैछ ।  यो  वर्षको चैत महिनाको तुलनामा बैशाखमा केहि मूल्यवृद्धि बढेको  छ । जसका कारण आगामी दिनमा मूल्यबृद्धि झनै बढेर जाने  देखिएको छ । भन्सार विभागका अनुसार ११ महिनामै १२ खर्ब ११ अर्बको ब्यापार घाटा छ । आन्तरिक उत्पादन नबढाउने हो भने ब्यापार घाटा झनै बढेर जानेछ   भने मूल्यबृद्धि पनि सिमामा राख्न कठिन् हुनेछ । त्यसैले यो वर्ष राष्ट्र बैंकले बैंकहरुलाई प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्न थप कडाई गर्ने देखिएको छ ।

यो वर्षको पहिलो त्रैमास बाहेक अन्य सबै त्रैमासमा बैंकहरुमा लगानीयोग्य रकमको अभाव थियो । सरकारले समयमै खर्च गर्न नसकेका कारण बैंकहरुमा तरलता अभाव देखिएको हो । आगामी आर्थिक वर्षमा भने बजारमा तरलता अभाव हटाउनका  लागि  राष्ट्र बैंकले समयमै रिपो जारी गर्ने तयारी गरेको छ । सवारी साधनमा जाने कर्जामा कडाई गर्ने वा नगर्ने भन्नेमा भने राष्ट्र बैंक अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन ।  किनकी राज्यलाई प्राप्त हुने भन्सार करको ठूलो हिस्साा सवारी साधनबाट प्राप्त हुँदै आएको छ । यस्तो कर्जामा कडाई गर्दा आयात ठप्प हुने र राज्यको राजस्वमा नै कमि आउने होकि भन्ने  केहि बिज्ञहरुको तर्क छ ।

बैंकहरुले अहिले घरजग्गा र सवारी साधनमा उच्च मात्रामा कर्जा सहजै प्रदान गरिरहेका छन् । तर, अब भने राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा लगानी तोकिएबमोजिम गरेपछि मात्रै यस्तो  क्षेत्रमा कर्जा दिने व्यवस्था गर्नु जरुरी  छ । प्राथमिकता प्राप्त क्षेत्रमा बैंकहरुको कर्जा केन्द्रित हुन सके ब्यापार घाटा र मूल्यबृद्धि केहि हदसम्म भएपनि नियन्त्रण हुन सक्छ ।