काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले इमान्दारितापूर्वक जनताको सेवा गर्ने अवसर प्राप्त हुनेमा आफू आशावादी रहेको बताएका छन्। प्रतिनिधि सभा चुनावका लागि मोरङ–३ बाट सर्वसम्मत सिफारिस भएपछि सोही समारोहमा उनले यस्तो धारणा राखे।
डा. शर्माले २०८२ सालमा निर्वाचन हुने–नहुने विषयमा शंका रहेको बताउँदै कांग्रेसले मोरङ–३ जस्तै अन्य क्षेत्रमा पनि मेलमिलापसहित सर्वसम्मत उम्मेदवार सिफारिस गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए। उनका अनुसार देशभरका १६४ क्षेत्रले मोरङ–३ लाई रोल मोडल मानेर एकता, मेलमिलाप र सहकार्यका आधारमा उम्मेदवार चयन गरे कांग्रेसले नयाँ ऊर्जा प्राप्त गर्नेछ।
उनले भने, “मन्त्री हौँला, नहौँला त्यो फरक कुरा हो। तर इमान्दारितापूर्वक नेपाली जनताको सेवा गर्ने अवसर भगवानले अवश्य दिनुहुनेछ।”
मोरङ–३ मा क्षेत्रीय समितिको बैठकबाट डा. शर्मा एकल नामका रूपमा सिफारिस भएसँगै केन्द्रले मागेको तीन नाममध्ये मात्र एकै नाम पठाइएको छ। अन्य कुनै नेताले दाबी नगरेको कारण उनी सर्वसम्मत रूपमा सिफारिस भएका हुन्। यससँगै उनी देशभरकै पहिलो सर्वसम्मत कांग्रेस उम्मेदवारका रूपमा पनि चिनिएका छन्।
स्थानीय नेताहरू र कार्यकर्ताहरूले डा. शर्मालाई क्षेत्रको अपरिहार्य विकल्प भनेका छन्। मन्त्री बन्ने मार्गमा पनि आफूहरूले समर्थन र आशिर्वाद दिने बताएका छन्।