शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

निजी क्षेत्रलाई सँगै नगलिए अर्थतन्त्र उकास्न नसकिने : अध्यक्ष ढकाल

आइतबार, मंसिर २१ २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई उपेक्षा गरेर देशको अर्थतन्त्र मजबुत बनाउन नसकिने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६ औँ वार्षिक साधारण सभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले नीति निर्माणदेखि आर्थिक एजेन्डासम्म निजी क्षेत्रको सहभागिता अनिवार्य रहेको स्पष्ट पारे।

ढकालका अनुसार नेपालमा निजी क्षेत्रप्रतिको दृष्टिकोण अझै पनि सीमित र नकारात्मक छ, जसका कारण नीति निर्माणमा निजी क्षेत्रलाई समावेश गर्ने प्रचलन कमजोर छ। उनले व्यवस्था परिवर्तन भएका प्रत्येक चरणमा आर्थिक तथा नीतिगत एकतामा देश कमजोर देखिएको उल्लेख गरे।

उनले भने, “हाम्रै देशमा निजी क्षेत्रलाई सहभागी नगराउने चलन छ। त्यसैले व्यवस्था परिवर्तन भए पनि आर्थिक तथा नीतिगत एजेन्डामा हामी पछाडि परेका छौँ। निजी क्षेत्रलाई टाढा राखेर बनाइने कुनै पनि नीति प्रभावकारी बन्न सक्दैन। आर्थिक गतिविधि बढाउन पनि त्यहाँबाट परिणाम आउँदैन। सामूहिक दृष्टिकोण बिना हामीले चाहेको नतिजा प्राप्त हुँदैन।”

अध्यक्ष ढकालले आन्तरिक पुँजी परिचालन गर्दै ठूलो–ठूलो आयोजना निर्माण गर्न सकिने विश्वास व्यक्त गरे। नेपालमा सम्भावना छैन भन्ने धारणा तोडेर अब देशमै पर्याप्त सम्भावना रहेको सन्देश दिन निजी क्षेत्र सक्षम रहेको पनि उनले जोड दिए।