शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्न दबाब दिएको अध्यक्ष ओलीको आरोप

आइतबार, मंसिर २१ २०८२

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गराउन निरन्तर दबाब दिएको आरोप लगाएका छन्।

शनिवार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्रीले सम्पत्ति शुद्धिकरण विभागमा नेतृत्व परिवर्तनसमेत आफूलाई लक्षित गरेर गरिएको दाबी गरे।

ओलीका अनुसार विभागका तत्कालीन प्रमुखले ‘गैरकानूनी रूपमा मुद्दा चलाउन’ वा ‘प्रमाण तयार गर्न’ अस्वीकार गरेपछि उहाँलाई तुरुन्तै सरुवा गरी नयाँ निर्देशक नियुक्त गरिएको हो। ओलीले प्रधानमन्त्री कार्कीले बारम्बार विभागलाई ‘गिरफ्तार गर्नुपर्ने’ प्रकारका निर्देशन दिएको बताए।

उनले भने, “प्रधानमन्त्रीज्यूले तीन–तीन पटक बोलाएर प्रमाण तयार गर, मुद्दा चलाऊ भन्ने दबाब दिनुभयो। तर विभागका निर्देशकले कानूनविपरीतको काम गर्न नसक्ने बताएपछि उहाँलाई हटाएर अर्को ल्याइयो। यस्तो स्थितिमा देश कहाँ जान्छ ?”

ओलीले सरकार स्वयं अवैधानिक रहेको दाबी गर्दै यस्तो सरकारबाट अध्यादेश जारी गर्नु समेत असम्भव र अनुचित हुने टिप्पणी गरे। साथै राजदूत फिर्ता बोलाउनेजस्ता कदम सरकारको अधिकारक्षेत्रभन्दा बाहिरको काम भएको पनि उनले आरोप लगाए।

यस्तै ओलीले आगामी निर्वाचनबाट आफ्नो पार्टी सरकारमा आउने दाबी गरेका छन् ।

आगामी फागुन २१ गते निर्वाचन हुने निश्चित नभएपनि कुनैपनि बेला हुने निर्वाचनबाट एमाले सरकारमा आउने ओलीको भनाई थियो ।

उक्त कार्यक्रममा बोल्दै उनले निर्वाचनपछि एमालेले सरकार बनाउने भएकाले आफूहरु सो निर्वाचनको पर्खाईमा रहेको समेत बताए।

अध्यक्ष ओलीले एमालेलाई नदीसँग तुलना गर्दै सानातिना भाटा लगाएर निर्वाचनपछि सरकार बन्नबाट कसैले रोक्ने नसक्ने बताए ।