काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट प्रक्रिया सुरु गर्दै इच्छुक सदस्यलाई आवेदन दिन आह्वान गरेको छ।
पार्टीका प्रवक्ता मनिष झाले आज विज्ञप्ति जारी गर्दै समानुपातिक तर्फका उम्मेदवार छनोटको औपचारिक प्रक्रिया खुला गरिएको जानकारी दिए। योग्यता पुगेका पार्टी सदस्यले रास्वपाको मोबाइल एपमार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।
उम्मेदवारीका लागि आवेदन दिने समय मङ्सिर २२ गतेदेखि २५ गतेसम्म रहेको छ। साथै, उम्मेदवार छनोटको रूपरेखा, आवश्यक मापदण्ड तथा प्रक्रिया विस्तृत रूपमा अध्ययन गर्न र आवेदनका विवरण हेर्न पार्टीको आधिकारिक वेबसाइट हेर्न आग्रह गरिएको छ।