काठमाडौँ, १८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएको छ। उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा हुनेछ भने बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुने तय भएको छ।
पार्टीको महाधिवेशनका लागि गठन गरिएको स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार उद्घाटनसत्रमा ठूलो जनसहभागिता हुने अपेक्षा गरिएकोले १० हजार स्वयंसेवक खटाउने निर्णय गरिएको हो।
बन्दसत्रमा करिब ५०० स्वयंसेवक परिचालन गरिनेछ। ती स्वयंसेवक पार्टीका २४ विभिन्न जनसङ्गठन र कमिटीबाट माग गरिएको छ। हालै गठन भएको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) स्वयंसेवक व्यवस्थापनमा समन्वय गर्नेछ।
यसैबीच, सल्लाघारीस्थित १०८ रोपनी क्षेत्रफलमा फैलिएको चौरको अवलोकन पार्टी टोलीले बुधबार गरेको छ। टोलीमा उपमहासचिव एवं महाधिवेशन जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवाली, केन्द्रीय प्रचार–प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य विनोद श्रेष्ठ, भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, जिल्ला सचिव विष्णु तामाङ लगायत सहभागी थिए।
संयोजक ढकालले उक्त चौरमा करिब दुई लाख जनसहभागिताको क्षमता रहेको उल्लेख गर्दै मञ्च व्यवस्थापन, शौचालय लगायत आवश्यक पूर्वाधार निर्माणका लागि स्वयंसेवक तयारीमा रहेको जानकारी दिए। उद्घाटनका दिन पूर्वबाट आउने सवारीसाधनलाई जगातीस्थित इँटा–टायल कारखाना र पश्चिमबाट आउने सवारीलाई गठ्ठाघर–कमेरोटार क्षेत्रबाट व्यवस्थापन गरिने छ।
महाधिवेशनमा आयोजक र निर्वाचित गरी करिब २,४०० प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म चल्नेछ।