दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोडसेडिङ समाप्त गर्न तयार गरिएको योजनामा जस नपाई उल्टै तेस्रो पक्षले पार्टी नै खोलेको टिप्पणी गरेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले हालै घोषणा गरेको ‘उज्यलो नेपाल पार्टी’ लाई लक्षित गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्—“लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले। जसको योजना उसैलाई श्रेय दिने कहिले?”
महासचिव पोखरेलका अनुसार नेपाललाई लोडसेडिङमुक्त बनाउने योजनाको श्रेय एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जाने उल्लेख गर्दै उनले विगतमा पनि सो कुरा सार्वजनिक रूपमै स्पष्ट पारेका थिए।
उनी भन्छन्, “केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा नेपालमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। आधारभूत लोडसेडिङ एक वर्षभित्र हटाउने योजना तयार गर्ने प्रधानमन्त्री पनि उनी नै हुनुहुन्थ्यो।”
घिसिङले नयाँ राजनीतिक पार्टी घोषणा गरेसँगै सामाजिक तथा राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आइरहेका बेला पोखरेलको टिप्पणी थप चर्चामा आएको छ।