काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेलिकप्टर अवतरणसम्बन्धी नलिन्चोक प्रकरणमा संलग्नता देखिएको भन्दै उनीहरूविरुद्ध मुद्दा पेस गरेको हो।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार प्रत्येक प्रतिवादीसँग १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७६ पैसा बिगो दाबी गरिएको छ।
अख्तियारले दायर गरेको यो मुद्दा भक्तपुरको नलिन्चोक हेलिकप्टर अवतरण स्थल निर्माण र निर्माणसम्बन्धी अनियमितता मा केन्द्रीत रहेको बताइएको छ।
मुद्दा दायर हुनेहरूमा महानिर्देशक अधिकारी, निर्देशक मुरारी भण्डारी उपप्रबन्धक समृद्धि श्रेष्ठ, प्रबन्धक निलविक्रम थापा, विजय थापा, गुरुदत्त अधिकारीसहित एउटा इन्जिनियरिङ कम्पनी समेत रहेकाे छ ।
मुद्दा दायर गर्नुअघि अधिकारी र भण्डारीलाई पक्राउ गरिएको थियो । उनीहरूलाई पनि विशेष अदालतमा उपस्थित गराइएको छ ।
१२ करोड खर्चेर बनाइएको भक्तपुरको नलिञ्चोक हेलिपोर्टमा उडान जोखिम कारण देखाउँदै पाइलटहरूले केही दिनमै हेलिकप्टर उडाउन मानेका थिएनन् ।
३३ रोपनी क्षेत्रफलमा बनाइएको हेलिपोर्टमा विद्युत तार, रुख र वरिपरिका घरले अवतरण र उडान दुवैमा जोखिम रहेको भन्दै उनीहरूले ज्ञापन पत्र बुझाएका थिए ।