शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

उधौली पर्वको अवसरमा राष्ट्रपति पौडेलद्वारा शुभकामना

बिहिबार, मंसिर १८ २०८२

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको महान् पर्व उधौलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

राष्ट्रपतिले प्रकृतिसँग गहिरो सम्बन्ध राख्ने किराँत समुदायको यो पर्वले नेपालका विविध जातजातिबीच आपसी सद्भाव, पारिवारिक एकता र सामुदायिक सहकार्य सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

सन्देशमा उनले नेपाल विभिन्न जातजाति र संस्कृतिको “साझा फूलबारी” भएको उल्लेख गर्दै उधौलीजस्ता पर्वहरूले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई एकताबद्ध बनाएर सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाइरहेको धारणा व्यक्त गरे ।

उनले भनेका छन्, “उधौली पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई स्मरण गराउँदै वातावरणअनुकूल जीवनशैली, सहकार्य, सांस्कृतिक संरक्षण, श्रमको सम्मान तथा पूर्वजप्रतिको आस्थालाई अझ प्रगाढ बनाउने कार्य गरेको छ।”

राष्ट्रपतिले उधौली पर्वले सहिष्णुता, भ्रातृत्व र आपसी सद्भाव अभिवृद्धि गराई राष्ट्रिय एकतालाई थप सबल बनाउने विश्वास प्रकट गरेका छन् ।

किराँत समुदायका राई, लिम्बू, सुनुवार र याक्खाहरू उधौली पर्व परम्परागत भेषभूषामा सार्वजनिक स्थलमा भेला भई साकेला नृत्यका साथै विभिन्न कार्यक्रमका साथ उत्साहपूर्वक मनाउँदै आएका छन्।

उधौलीले जाडो मौसम सुरु भई मानिस, जनावर तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर सराइँसर्ने प्राकृतिक संकेत गर्ने विश्वास गरिन्छ। यस पर्वमा भित्र्याइएको नयाँ अन्न पितृलाई चढाई पूजा गर्ने र अन्नको सह बढोस भन्ने कामनासहित भूमिको पनि पूजा गर्ने परम्परा रहिआएको छ।