काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिको अधिकार, समानता, समावेशिता र सम्मान सुनिश्चित गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
अपाङ्गता भएका व्यक्तिको ३४औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा भृकुटीमण्डपमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खरेलले सरकारले अपाङ्गमैत्री नीतिगत तथा संरचनागत सहकार्य गर्ने आश्वासन दिए। उनले अपाङ्गता भएका व्यक्तिका लागि तयार गरिएको ‘सहयोगी निर्देशिका’ चाँडै कार्यान्वयनमा ल्याइने विश्वास व्यक्त गरे।
“अरू नेताले गर्छु भन्थे, गर्दैनथे। म भने गर्दिनँ भन्दिनँ, गरिसकेपछि गरेँ भन्छु,” मन्त्री खरेलले व्यंग्यात्मक शैलीमा भने, “देशमा गर्छु भन्ने रोग छ, अब भने कामले देखिनेछ।”
मन्त्री खरेलले सरकारले गम्भीर रूपमा अपाङ्गता भएका नागरिकका लागि प्रारम्भिक प्रक्रियादेखि नै ठोस कदम चाल्ने स्पष्ट पारे। सामाजिक न्याय, समता, समानता र भेदभावरहित समाज निर्माणमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
प्रधानमन्त्री सुशीला कार्कीले दिवसका अवसरमा पठाएको शुभकामना सन्देशमा पनि सरकार अपाङ्गता भएका व्यक्तिको पक्षमा दृढ रहेको उल्लेख गरिएको भन्दै उनले यसलाई कार्यान्वयनमै जोडिने बताए। सञ्चार मन्त्रालयलाई सम्पूर्ण रूपमा अपाङ्गमैत्री बनाउने नीतिगत तथा संरचनागत योजनामा आफू तत्पर रहेको उनले उल्लेख गरे।