काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण र सामाजिक पहिचानको सुधारका लागि आफ्नो पार्टी निरन्तर क्रियाशील रहेको बताएका छन्।
अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवसका अवसरमा जारी गरिएको शुभकामना सन्देशमार्फत अध्यक्ष ओलीले सामाजिक सुरक्षा भत्ता व्यवस्था, नकारात्मक सामाजिक दृष्टिकोण परिवर्तन तथा राजनीतिक–सामाजिक आन्दोलनमार्फत पार्टीले महत्वपूर्ण योगदान दिएको उल्लेख गरे।
उनका अनुसार अपाङ्गता भएका व्यक्तिहरूलाई राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र नागरिक अधिकार प्राप्तिका लागि संगठित गर्दै नेतृत्व तहमा सहभागी गराउने प्रयास लगातार जारी छ। साथै, अपाङ्गता भएका व्यक्तिहरूले वर्षौँदेखि उठाउँदै आएका मुद्दालाई पार्टी नीति र कार्यक्रममार्फत प्राथमिकतापूर्वक समावेश गर्दै आएको पनि उनले स्पष्ट पारे।
अध्यक्ष ओलीले सन्देशमा भनेका छन्, “अपाङ्गता भएका व्यक्तिहरूको स्वतन्त्र, स्वावलम्बी र मर्यादित जीवनयापनका लागि व्यक्तिगत सहयोगी सेवा, सहायक सामग्री तथा प्रविधि सेवा, पहुँचयुक्तता, सामाजिक सुरक्षा, पारा खेलकुदको विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा नेकपा एमाले गम्भीर छ।”