काठमाडाैं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज (बुधबार) दिउँसो २ बजे प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
हिजो पत्रकार सम्मेलन गर्दै उनले सर्वोच्च अदालतले दिएको परमादेशअनुसार विश्वासको मत लिने तयारी पूरा भइसकेको जानकारी दिएका थिए। मुख्यमन्त्रीको पत्रका आधारमा प्रदेशसभा सचिवालयले विश्वासमत सम्बन्धी सूचना पनि जारी गरिसकेको छ।
यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन भने पनि परमादेशको पत्र आफूले हिजो दिउँसो ३ बजे मात्र प्राप्त गरेकोले सोही आधारमा प्रक्रिया अघि बढाइएको स्पष्ट पारे। उनका अनुसार अदालतको आदेशअनुसार नै कार्ययोजना अघि बढ्ने र विश्वासको मत आफूले नै प्राप्त गर्ने भरोसा रहेको छ। “अदालतको फैसलाअनुसार प्रक्रिया हुन्छ र विश्वासको मत मैले नै पाउँछु। एमालेले मधेशमा ज–जसलाई मुख्यमन्त्री बनाएको छ, ती सबै दलले मलाई सघाउँछन्,” उनले भने।
सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री यादवको नाममा २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। उनी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेताका आधारमा मुख्यमन्त्री नियुक्त भएका थिए। यद्यपि अन्य दलहरूले बहुमतको दाबी गर्दै सरकार गठनको माग गरेका थिए, तर तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले यादवलाई नै मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।
यही विषयमा विवाद उत्पन्न भएपछि संघीय सरकारको सिफारिसमा प्रदेश प्रमुख भण्डारीलाई राष्ट्रपतिले पदमुक्त गरेका थिए। मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ सदस्यले सर्वोच्च अदालतमा दायर गरेको रिटमा यसअघि अदालतले दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो।