काठमाडौँ । नयाँरायणनाथ गाउँपालिकामा निर्माण भएको ओडैनी आलडखोरा सिंचाइ कुलो निर्माणमा ठूलो अनियमितता भएको पुष्टि गर्दै रु १९ लाख ४८ हजार ४८८ हिनामिनाको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार २०७७/७८ मा गाउँपालिकाबाट विनियोजित रु ४२ लाख ८४ हजार लागतमा निर्माण गरिएको कुलोमा मनगढन्ते नापी, झूटा प्राविधिक विवरण र फर्जी काम सम्पन्न प्रतिवेदन तयार गरी वास्तविकभन्दा धेरै कार्य सम्पन्न हुँयो भनी देखाइएको पाइएको छ।
अनुसन्धानमा सम्झौताअनुसार ९३० मिटर पक्की कुलो बनाउनुपर्नेमा ३५४ मिटर मात्र पक्की कुलो र ७३० मिटर कच्ची कुलो निर्माण भएको प्रमाण भेटिएको आयोगले जनाएको छ। झूटा नापजाँच तथा कागजातका आधारमा फर्जी मूल्यांकन गरी राज्यलाई १९.४८ लाख रुपैयाँ बराबरको हानि–नोक्सानी पुर्याइएको ठहर गर्दै आयोगले मुद्दा दायर गरेको हो।