शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रतिनिधि सभा निर्वाचन : १४३ दल निर्वाचनमा भाग लिन दर्ता

सोमबार, मंसिर १५ २०८२

काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। निर्वाचन आयोगले आइतबारसम्म दल दर्ताको समयसीमा तोकेको थियो।

निर्वाचनमा भाग लिन ११९ दलले आयोगमा निवेदन दर्ता गरेका छन्। यसमध्ये १४ दलबाट दुई वा बढी दल मिलेर एकल चुनाव चिन्ह लिन ६ वटा निवेदन आएको छ। ती ९ दलले छुट्टाछुटै निवेदन पनि दर्ता गराएका छन्। एक्लै चुनाव लड्ने गरी १०५ दलले निवेदन दर्ता गराएका छन्।

विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सबै १४ दलको निवेदन पनि दर्ता भइसकेको छ। यसका साथै, पुराना राजनीतिक शक्तिलाई चुनौती दिन गत एक महिनामा २५ नयाँ दल दर्ता भएका छन्। नयाँ दल दर्तासँगै निर्वाचन आयोगमा कुल दर्ता भएका दलको संख्या १४३ पुगेको छ।

निर्वाचन आयोगले दर्ता भएका दलका निवेदनमाथि २० मंसिरसम्म छानबिन गरी अन्तिम सूची तयार पार्नेछ र नामावली राजपत्रमा प्रकाशन गर्नेछ। दर्ता किताबमा सूचीकृत दलहरूले मात्र आगामी प्रतिनिधि सभा निर्वाचनमा भाग लिन पाउनेछन्।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार प्रतिनिधि सभा निर्वाचनमा राजनीतिक दलहरूको उत्साह देखिएको छ। नयाँ दल थपिनु र पुराना दलले पनि सहभागिता जनाउन खोज्नुले निर्वाचनमा उत्साह थपेको छ। उनले आयोग निर्वाचनका लागि तयार र सक्षम रहेको पनि स्पष्ट पारे ।