काठमाडौँ । उज्यालो नेपाल पार्टी गठन गर्दै प्रत्यक्ष राजनीतिमा प्रवेश गरेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच आइतबार भएको भेटघाट भएकाे छ । उक्त भेटले राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न गरेको छ।
मेयर बालेनको निवासमै भएको यो भेटलाई धेरैले सामान्य शिष्टाचार मात्र नभई भविष्यमा वैकल्पिक राजनीतिक मोर्चा गठनतर्फ संकेतको रूपमा व्याख्या गर्न थालेका छन्।
भेटपछि सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सार्वजनिक गर्दै मन्त्री घिसिङले लेखेका थिए, “देश बनाउने अभियानमा हामी सँगै छौँ।” घिसिङको यो टिप्पणीले वर्तमान सत्ता यात्रामा रहेका दलहरूलाई समेत सतर्क बनाएको राजनीतिक विश्लेषकहरू बताउँछन्।
जनस्तरमा लोकप्रियता हासिल गरिरहेका दुई चर्चित पात्र—लोडसेडिङ अन्त्य गरेर प्रशासनिक हैसियत देखाएका घिसिङ र काठमाडौंको रूपान्तरणमा खपत भइरहेका मेयर बालेन—एकै ठाउँमा भेटिएको दृश्यलाई वैकल्पिक राजनीतिक शक्तिको नयाँ अध्यायको प्रारम्भका रूपमा बुझ्न थालिएको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेनको पछिल्ला गतिविधि र कार्यक्रमले राजनीतिक र सामाजिक क्षेत्रबाट व्यापक आलोचना र विरोध उत्पन्न भइरहेका बेला उनीहरुबीचको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
बालेनका सचिवालयका अनुसार भेटघाटमा देशको समसामयिक राजनीतिक अवस्था, सहकार्यका सम्भावना र विकास–निर्माणका साझा एजेन्डाबारे विस्तृत छलफल भएको थियो।
अब दुवै नेताको सहकार्य केवल विकास निर्माणमै सीमित रहनेछ कि आगामी निर्वाचन वा राजनीतिक मोर्चाबन्दीसम्म विस्तार हुनेछ ।
विशेष गरी, वर्तमान राजनीतिक परिदृश्यमा उनीहरूको यो गठबन्धन वा सहकार्यले परम्परागत राजनीतिक संरचनामा असर पार्ने सम्भावना रहेको विश्लेषकहरूको भनाइ छ।