काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को एकता घोषणालाई नेपालमा साझा लक्ष्य र प्रगतिका लागि एक महत्वपूर्ण कोशेढुङ्गा सावित हुने बताइन् ।
प्रधानमन्त्री कार्कीले आज सिंहदरबारमा आयोजित एनआरएनएको एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै, गैरआवासीय नेपालीको हित, आवश्यकता र योगदानप्रति सरकारको पूर्ण संवेदनशीलता रहेको बताइन्। उनले जहाँ भए पनि “नेपाली हुँ” भन्ने भावना बोकेको प्रत्येक नागरिकलाई नेपालको विकास र उन्नतिमा सक्रिय रूपमा लाग्न आह्वान गरिन् ।
प्रधानमन्त्री कार्कीले विदेशी भूमिमा रहेका नेपालीको मेहनत र समर्पणको महत्व जोड्दै भनिन्, “विदेशमा काम गर्दा दुःख छ, तर सफलता पनि मेहनतपछि प्राप्त हुन्छ। तपाईंहरूले आफ्नो माटो र मुलुकको माया राख्नु भएको छ। अब तपाईंले आफ्नो मातृभूमिका लागि सक्ने योगदान गर्नुहोस्।”
उनले विशेष गरी जेनजी आन्दोलनका क्रममा राष्ट्रिय सम्पदामा भएका क्षति र त्यसले निम्त्याएको चुनौतीको मूल्याङ्कन गर्नु आवश्यक रहेको बताइन्। “शान्त तलाउमा ढुङ्गा हानिए जस्तो क्षति भयो। मुलुकको हित र विकासका लागि तपाईंहरूको थप सुझाव र सहयोग आवश्यक छ,” प्रधानमन्त्री कार्कीले भनिन् ।
त्यसैगरी, उनले निर्वाचन प्रक्रिया र राजनीतिक संस्कृतिको सुधारतर्फ ध्यान आकृष्ट गर्दै, हार्ने र जित्ने दुवै पक्षले देशको विकासका लागि जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, “निर्वाचनमा हार्नेले जित्नेलाई काम गर्न दिनुपर्छ, र हार्नेले अर्को अवसर पाउने आशामा सकारात्मक काम गर्न तयार रहनुपर्छ। सङ्घको एकताबाट राजनीतिक दलहरूले पनि सिक्नुपर्छ।”
प्रधानमन्त्री कार्कीको यो सन्देशले गैरआवासीय नेपालीमा राष्ट्रिय जिम्मेवारी र एकताको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।