काठमाडौँ, १० मंसिर। विभिन्न वामपन्थी दल र समूह एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टीले छिट्टै पार्टी–निकट जनवर्गीय संगठन तथा विभागको समायोजन प्रक्रिया अघि बढाउने भएको छ।
पार्टीका नेता प्रकाश ज्वालाका अनुसार पार्टीको भ्रातृ संगठनहरूको पुनर्गठन तथा समायोजनको तयारी सुरु भएको छ। यसका लागि पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालबीच विस्तृत छलफल भएको बताइयो।
ज्वालाले सबै पक्षलाई समेटेर विगतमा जिम्मेवारी सम्हालेका नेताहरूको कार्य क्षमता मूल्याङ्कन गरी नयाँ जिम्मेवारी तोक्ने सहमति बनेको जानकारी दिनुभयो। विभागीय इन्चार्ज तथा जनवर्गीय संगठनको नेतृत्व व्यवस्थापन सकिएपछि पार्टी आगामी निर्वाचन तयारीतर्फ उन्मुख हुने भी बताए ।
हालको संरचनामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, नेकपा (माओवादी समाजवादी), गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चालगायत विभिन्न वाम समूह समावेश छन्।
पार्टीले यही महिनाभित्र सबै प्रदेश र केही जिल्लामा एकता–सभा आयोजना गर्ने कार्यसूची तय गरेको छ।