काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत सह–प्राध्यापक (सह–परीक्षा नियन्त्रक) पदमा नियुक्ति दिलाउन शैक्षिक योग्यता जालसाजी गरिएको ठहर भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार डिल्लीराम प्रसाईंले सह–परीक्षा नियन्त्रक पदका लागि आवेदन दिने क्रममा आफूले पीएचडी पूरा गरेको भन्दै नामको अगाडि “डा.” लेखेर झुटो विवरण पेश गरेका थिए। उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी भएको भन्दै प्रमाणपत्रहरूसमेत बुझाएका थिए।
तर अभिलेखअनुसार प्रसाईंले विद्यावारिधिको अन्तिम मौखिक परीक्षा २०७९ भदौ २७ मा दिए पनि शोधपत्र स्वीकृत नहुँदा उपाधि प्रदान प्रक्रिया पछि परेको थियो। डीन कुशुम शाक्यको अध्यक्षतामा गठन भएको अनुसन्धान समितिले ५ पुसमा उनको शोधपत्र अस्वीकृत गरेको थियो। अन्ततः २०७९ माघ २९ मा मात्र उनलाई पीएचडी उपाधि प्रदान गरिएको थियो।
अख्तियारले प्रसाईंले आफूले नपाएको उपाधि पाएको झुटो दाबी गर्दै पदको लाभ लिन खोजेकाले उनीविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ। साथै, झुटा विवरण स्वीकार गरी छनोट प्रक्रियालाई प्रभावित बनाएको आरोपमा छनोट समितिका संयोजक प्रा. डा. जया लक्ष्मी प्रधान र सदस्य प्रा. डा. मोतिलाल शर्मा तथा प्रा. डा. मेधराज पोखरेलविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
त्रिविले एक वर्षअघि परीक्षा नियन्त्रण कार्यालय, पूर्वाञ्चल, विराटनगरका लागि सह–परीक्षा नियन्त्रक पदका लागि विज्ञापन खोलेको थियो, जसमा ६ जनाले आवेदन दिएका थिए।