शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले ११औँ महाधिवेशन : अध्यक्षमा ओली र पोखरेलबीच प्रतिस्पर्धा निश्चित

बिहिबार, मंसिर ११ २०८२

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा हुने भएको छ।

यसअघि काठमाडौंको भृकुटीमण्डप वा खुला मञ्चमा गर्ने तयारी भए पनि पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बुधबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको महाधिवेशन सचिवालयको पहिलो बैठकले सल्लाघारीलाई उद्घाटन स्थलका रूपमा तय गरेको हो।

देशभरका नेता–कार्यकर्ताको भीडका कारण ट्राफिक व्यवस्थापन जटिल हुन सक्ने देखिएकाले उद्घाटन सत्र भक्तपुरमा सारिएको बताइएको छ। तर, बन्दसत्र भने भृकुटीमण्डपमै हुनेछ।

एमालेले प्रारम्भिक रूपमा महाधिवेशन पोखरामा गर्ने निर्णय गरे पनि विशेष कारण देखाउँदै कार्यक्रम काठमाडौं सारिएको थियो। महाधिवेशन २७ देखि २९ मंसिरसम्म सञ्चालन हुनेछ। यसपटक पनि विधान महाधिवेशनमै पारित गरिएको नारामै— ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’—महाधिवेशन सञ्चालन हुनेछ।

अध्यक्षमा तेस्रो कार्यकालका लागि ओली, पोखरेलसँग प्रतिस्पर्धा

केपी शर्मा ओली तेस्रोपटक अध्यक्षका लागि दाबेदार बन्न तैयार छन्। दुई कार्यकाल सीमितता तथा ७० वर्षे उमेरहदको प्रावधान विधानबाट हटेसँगै ओलीका लागि तेस्रो कार्यकालको बाटो खुलेको हो। तर, यसपटक निर्विरोध अध्यक्ष बन्ने उनको चाहना पूरा नहुने लगभग निश्चित छ, किनभने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरिसकेका छन्।

यदि सदस्यता नवीकरण रोकिने समस्या नआएको भए पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वयंले ओलीविरुद्ध उम्मेदवारी दिने तयारी गरेकी थिइन्। भण्डारीको सदस्यता स्थगित भएपछि उनको समर्थन पोखरेलतर्फ केन्द्रित भएको बताइएको छ।

पोखरेलले पार्टीको ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले देशभरका नेता–कार्यकर्ताको सुझाव र आग्रहलाई स्वीकार गर्दै आफू अध्यक्षको दावेदार बन्ने निर्णय सार्वजनिक गरेका हुन्। यसअघि बसेको एमाले सचिवालय बैठकमा पनि पोखरेलले नेतृत्व सम्हाल्ने इच्छा व्यक्त गरिसकेका थिए।

पोखरेलले पार्टीभित्र पुनर्गठन, रूपान्तरण र लोकतान्त्रिककरणका प्रक्रिया अघि बढाउन अब नयाँ नेतृत्व आवश्यक रहेको तर्क दोहोर्याएका छन्। अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा आफूले राखेको उल्लेख गरे पनि ओली तेस्रो कार्यकालका लागि तयारी अवस्थामा रहेको स्रोतहरूले बताउँदै आएका छन्। ओलीले तेस्रोपटक अध्यक्ष बन्न पार्टी विधान परिमार्जन गरिएको थियो।

पोखरेलले सम्पर्क समिति तथा संगठनका विभिन्न मञ्चहरूलाई अधिक प्रभावकारी ढंगले परिचालन गर्नुपर्ने उल्लेख गरेका छन्। उनले पार्टीभित्र फैलिएको तडकभडकपूर्ण जीवनशैली अन्त्य गर्दै सादगी, जवाफदेहिता र जनपक्षीय कार्यशैलीको आवश्यकता जोड दिए। नेताहरू र कार्यकर्ताबीचको सम्बन्ध विश्वास र आत्मीयतामा आधारित हुनुपर्ने पनि उनको भनाइ छ।

पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यताबाट वञ्चित गरिनु दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्दै पोखरेलले भण्डारीलाई पार्टीमा फर्काउने वातावरण निर्माण गर्नुपर्ने धारणा समेत राखेका छन्।

२१२७ प्रतिनिधिसहित विशाल महाधिवेशन

११औँ महाधिवेशनमा उपस्थित प्रतिनिधिको संख्या २१२७ रहनेछ। पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)अनुसार विभिन्न क्लस्टर र संरचनाबाट प्रतिनिधि चयनको मापदण्ड निर्धारण गरिएको छ।

प्रतिनिधि संरचना यस प्रकार छः

केन्द्रीय संरचनाबाट ४६४ प्रतिनिधि

केन्द्रीय कमिटी : ३५५

अनुशासन आयोग : २९

निर्वाचन आयोग : ३०

लेखा आयोग : २५

सल्लाहकार परिषद् : २५

प्रदेश स्तरीय संरचनाबाट ४५ प्रतिनिधि
(विशेष प्रदेशसहित, पाँच सदस्य—कम्तीमा दुई महिला)

सबैभन्दा ठूलो क्लस्टर : भूगोल (संघीय निर्वाचन क्षेत्रहरू)

१६५ निर्वाचन क्षेत्रबाट ११३५ प्रतिनिधि

प्रत्येक क्षेत्रमा ४ जनाको प्रतिनिधित्व
(एक महिला, एक युवा–४० वर्षमुनि–सहित)