काठमाडौं । नेकपा (एमाले)को आगामी ११औँ महाधिवेशनका लागि पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गरेकी छन्।
पार्टी सदस्यता नवीकरण विधिसम्मत रूपमा पूरा भए तापनि नेतृत्वले रोकिदिएको कारण आफू महाधिवेशनमा उपस्थित हुन नसकेको उनले प्रष्ट पारिन्।
फेसबुकमार्फत दुःख व्यक्त गर्दै भण्डारीले लेखेकी छन्, “म संविधानअनुसार नवीकरण गरिएको सदस्यता रोकिएकाले महाधिवेशनमा भौतिक रूपमा सहभागी हुन नसकेकी हुँ। तर पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईंहरूका साथ सधैं रहनेछु।”
उनले विद्यमान चुनौतीपूर्ण राजनीतिक परिवेशबीच महाधिवेशनले एमालेलाई अगाडि बढाउने मार्ग तय गर्ने विश्वास व्यक्त गरिन्। उनका अनुसार महाधिवेशन नीति, दिशा र नेतृत्व चयनमार्फत पार्टीलाई सामाजिक–आर्थिक रूपान्तरणतिर लैजाने महत्वपूर्ण अवसर हो।
भण्डारीले प्रतिनिधि छनोटमा वैचारिक परिपक्वता, राजनीतिक अनुभव, उर्जाशील युवा पुस्ताको सहभागिता तथा विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्वलाई प्राथमिकता दिइने अपेक्षा व्यक्त गरिन्।
एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म सञ्चालन हुने छ। उद्घाटन भक्तपुरको सल्लाघारीमा हुनेछ भने बन्दसत्र काठमाडौंको भृकुटिमण्डपमा आयोजना गरिने छ।