काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको सुरक्षासम्बन्धी अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर विवाद भइरहेका बेला ज्ञवाली आयोगका कार्यबाहक प्रमुखमाथि खनिएका हुन्।
कार्यबाहक प्रमुख आयुक्त भण्डारीले सार्वजनिक रूपमा भनेका थिए, “हजारौँ लडाकु र हतियार बाहिरै राखेर पनि चुनाव भयो, केही हतियार बाहिर भएको भन्दै निर्वाचन हुन सक्दैन भन्नु गलत हो।”
यस अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै ज्ञवालीले भने, “यसलाई असान्दर्भिक तुलना र तथ्यहीन अभिव्यक्तिका रूपमा लिइनु पर्छ। राजनीतिक उद्देश्यसहित सशस्त्र द्वन्द्व अन्त्य गर्न अपनाइएका विशेष व्यवस्थाहरूको तुलना आपराधिक उद्देश्यले लुटिएका हतियारसँग गर्नु गैरसंगत छ।”
ज्ञवालीले माओवादी सशस्त्र नियमनसम्बन्धी ऐतिहासिक तथ्यहरू उल्लेख गर्दै भने, “माओवादीका हतियारहरू दुईवटा चाबीको संयन्त्रमा कन्टेनरमा राखिएका थिए, लडाकुहरू २८ शिविरमा सीमित थिए र अनमिनको निगरानीमा सबै प्रक्रिया चल्थ्यो। यी कुराहरू प्रमुख आयुक्तलाई थाहा हुनु पर्ने हो।”
उनले संविधानसभापूर्वका चुनावमा लडाकु र हतियार दुबै प्रयोग भएको विषयमा आयोगले उचित विश्लेषण गर्नुपर्नेमा जोड दिए। ज्ञवालीले संवेदनशील पदमा रहेका व्यक्तिबाट सुरक्षा जस्ता गम्भीर विषयमा जिम्मेवार अभिव्यक्ति अपेक्षित भएको बताउँदै कार्यबाहक आयुक्तको टिप्पणीलाई ‘गैरजिम्मेवार र अनुचित’ भनेका छन्।