शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित : मन्त्री घिसिङ

बुधबार, मंसिर १० २०८२

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासनको प्रत्याभूति गराउँदै जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित रहेको बताए।

राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्त रुपमा आयोजना गरेको नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०८२ मा सम्बोधन गर्दै उहाँले लामो समयदेखि उत्पन्न आक्रोश र असन्तुष्टिका कारण जेनजी आन्दोलन जस्तो अवस्था सिर्जना भएको उल्लेख गरे।

मन्त्री घिसिङले भने, “सेवा प्रवाह, सुशासन, विकासमा डेलिभरी दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएको हो। राजनीतिक नेतृत्व सही नहुँदासम्म तलसम्म खराब देखिँदो रहेछ। पुराना राजनीतिक दल र नेताहरू परिवर्तनमा सफल भए पनि समृद्धिको नेतृत्व गर्न चुकेका छन्।”

उनले पुराना ऐन, कानुन र नीतिहरूले जनताको समृद्धिको अपेक्षा पूरा गर्न रोक लगाएको बताउँदै निर्वाचनपछि आउने सरकारले ती बाधक ऐन, कानुन र नीतिहरू परिवर्तन गर्नुपर्नेमा जोड दिए।

मन्त्री घिसिङले मुलुक निर्वाचनमय भइसकेको उल्लेख गर्दै तोकिएको समयमै निर्वाचन हुनेमा जनतामा आश्वस्त पारे। “सबै राजनीतिक दल निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता भइसकेका छन्। तोकिएको समयमै निर्वाचन हुन्छ। अहिले बुद्धिविवेक प्रयोग गरेर देशलाई सही दिशा दिने नेतृत्व छान्नुपर्ने समय हो,” उनले भने।

सम्मेलनमा अन्य वक्ताहरूले पनि उद्यमशीलता र आर्थिक समृद्धिका पक्षमा आफ्नो धारणा राखेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका उपासभापति स्वर्णिम वाग्लेले भ्रष्टाचार नियन्त्रण र सुशासन आवश्यक रहेको बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासङ्घकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले युवाले रोजगारी खोज्ने नभई नयाँ इनोभेशन मार्फत रोजगारी सिर्जना गर्नुपर्ने औँल्याइन्।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र पौडेलले वैदेशिक रोजगारबाट फर्केका युवालाई स्वदेशमै उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताउँदै, सम्मेलनमा युवा उद्यमशीलता प्रवद्र्धन, चुनौती, सम्भावना र नीति निर्माण सम्बन्धी सामूहिक छलफल हुने जानकारी दिए।