बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मुख्यसचिव अर्याल आजदेखि अवकाशमा

मंगलबार, मंसिर ९ २०८२

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा जाँदै छन्। उनी अवकाशमा जाँदै गर्दा सरकारले सोमबार सुमन अर्याललाई नयाँ मुख्यसचिवका रूपमा नियुक्त गरेको छ।

विसं २०८१ भदौ १३ गते मुख्यसचिव पदमा नियुक्त भएका अर्यालले आफ्नो कार्यकालमा शासकीय प्रणाली, विकास व्यवस्थापन तथा सेवा प्रवाह सुधारमा महत्वपूर्ण योगदान दिएको दाबी गरेका छन्। उनका अनुसार नीतिगत तथा कानुनी सुधारका कारण सार्वजनिक सेवा प्रदान गर्ने प्रक्रियामा देखिएको ढिलासुस्ती हट्न मद्दत पुगेको थियो।

अर्यालले जेनजी आन्दोलनको व्यवस्थापन, विभिन्न पक्षसँग संवाद तथा वार्ता गरी शान्ति–स्थायित्व कायम गर्न भूमिका निर्वाह गरेको उल्लेख गरे। साथै अनुपयुक्त कार्यविधि तथा मापदण्ड खारेजी, सहकारी क्षेत्रमा देखिएका समस्याका समाधानका लागि प्राधिकरण गठन, एकीकृत सामाजिक सुरक्षा कार्यक्रममा जैविक तथ्याङ्कको प्रयोगलाई प्राथमिकतामा राख्ने जस्ता महत्वपूर्ण कार्य आफ्नो नेतृत्वमा सम्पन्न भएको बताइएको छ।

ग्रेलिष्टबाट बाहिरिन आवश्यक सुधारात्मक कार्ययोजना तयार गरी कार्यान्वयनका पहल, सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय लगायतका कदम पनि अर्यालको कार्यकालमा अघि बढाइएका थिए।

विद्युतीय प्रणालीको विस्तार, सेवाको अन्तरआवद्धता, राष्ट्रिय परिचयपत्र नम्बरलाई सेवाको आधारबिन्दु बनाउने प्रयास तथा सगरमाथा संवादको सहजीकरण, नीति प्रयोगशाला अवधारणाको कार्यान्वयनजस्ता कामहरूलाई पनि उनको कार्यकालका उपलब्धिका रूपमा उल्लेख गरिएको छ।