शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कास्कीको राष्ट्रिय माध्यमिक विद्यालयका अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सोमबार, मंसिर ८ २०८२

काठमाडौं । कास्कीस्थित राष्ट्रिय माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रामविक्रम राणासहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अञ्जुली बोर्डिङ स्कूलसमेत संलग्न रहेको यो मुद्दा आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको हो।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, पोखरा उपमहानगरपालिका–१ मा रहेको कित्ता नम्बर ३४३, क्षेत्रफल ३७(८(०२ को सार्वजनिक जग्गामा बनेको विद्यालय पूर्वाधार निजी विद्यालयलाई अवैध रूपमा भाडामा दिएको उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धान क्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामविक्रम राणा, वडा नम्बर १ की वडा अध्यक्ष शाहारा प्रधान, समिति सदस्यहरू वरुविक्रम राणा, सोवनाथ भट्टराई, विष्णुमाया लामिछाने, नारायणप्रसाद चापागाईं, साथै अञ्जुली बोर्डिङ स्कूलका सञ्चालक राजु केसी र प्राचार्य सुनिता कुँवर केसीले आपसी मिलेमतोमा विद्यालयको जग्गा १२ वर्षसम्म निजी बोर्डिङ स्कूललाई भाडामा दिएर आर्थिक अनियमितता गरेको प्रमाणित भएको आयोगले जनाएको छ।

आयोगले उनीहरूमाथि १५ लाख २९ हजार ४०८ रुपैयाँ बिगो कायम गर्दै सोही बराबरको जरिवाना र कैद सजायको मागदाबीसहित मुद्दा दायर गरेको छ।