शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जसपाका ६ नेताले छाडे पार्टी, मंसिर १० मा नेकपासँग एकता घोषणा गर्ने तयारी

सोमबार, मंसिर ८ २०८२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठसहित ६ जना नेताले पार्टी त्यागेका छन्।

उनीहरूले आइतबार जसपा छाडेर नेपाली कम्युनिष्ट पार्टीमा एकता तथा ध्रुवीकरणका उद्देश्यसहित जाने घोषणा गरेका छन्।

पार्टी छोड्ने नेताहरूमा संघीय परिषद् अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष रणध्वज लिम्बू (कन्दङ्वा), परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समिति अध्यक्ष दुर्गामणी देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष पुष्पराज राजकर्णिकार र केन्द्रीय अनुशासन आयोग अध्यक्ष कृष्णबहादुर धजु रहेका छन्। उनीहरूले मंसिर १० गते नेपाली कम्युनिष्ट पार्टीसँग एकता घोषणा गर्ने कार्यक्रम रहेको जनाएका छन्।

यसैबीच जसपाको अशोक राई समूहले पनि राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो र नाउपा नेपालका अध्यक्ष रेशमलाल चौधरीसँग सहमति गर्दै एउटै चुनाव चिन्हमार्फत प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ।

तीन नेताहरूले आइतबार सहमतिपत्रमा हस्ताक्षर गर्दै फागुन २१ गते हुने निर्वाचनमा नाउपा नेपालले प्रयोग गर्दै आएको ‘जाँतो (चक्रिया)’ चिन्हलाई संयुक्त रूपमा उपयोग गर्ने सहमति गरेका छन्।