शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आगामी निर्वाचनमा सबै दल सहभागी हुन्छन् : संचारमन्त्री खरेल

सोमबार, मंसिर ८ २०८२

चरिकोट । संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दल सहभागी हुने विश्वास व्यक्त गरेका छन्। कालिञ्चोक–८ सुनखानीस्थित कालिनाग माध्यमिक विद्यालयले आइतबार आयोजना गरेको बधाइ तथा अभिनन्दन कार्यक्रममा बोल्दै मन्त्री खरेलले निर्वाचनका लागि आवश्यक वातावरण तयार भइसकेको बताए।

उनले सरकारको मुख्य लक्ष्य निर्वाचन नै भएको उल्लेख गर्दै भने, “सरकार तयार छ, सबै दल सहभागी हुँदैछन्। निर्वाचनअनुकूल वातावरण निर्माण भइरहेको छ, यो सन्देश देशभर फैलाउनु जरूरी छ।” सुशासनका विषयमा सम्झौता नगर्ने बताउँदै मन्त्री खरेलले छ महिनाभित्र जनताले परिवर्तनको अनुभूति हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

जेनजी आन्दोलनको जगमा बनेको सरकारले आन्दोलनका घाइते तथा मृतकको बलिदानलाई सम्मानपूर्वक जोगाउने उल्लेख गर्दै उनले आन्दोलनविरुद्ध कुनै पनि प्रकारको गतिविधि सह्य नहुने चेतावनी दिए। सरकार भ्रष्टाचार न्युनिकरण र सुशासन मजबुत बनाउन केन्द्रित रहेको मन्त्री खरेलको भनाइ थियो।

उनका अनुसार राजनीतिक अस्थिरता र सत्ताकेंद्रित स्वार्थले शिक्षा क्षेत्रदेखि समग्र विकाससम्म नकारात्मक प्रभाव पारेको छ। अब स्थिरता, गुणस्तरीय शिक्षा र सुशासनलाई प्राथमिकता दिएर सबै दलले राष्ट्रिय जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।

दोलखा जिल्लामा आइतबार आयोजित कार्यक्रममा मन्त्री खरेललाई भव्य रूपमा अभिनन्दन गरिएको छ। सुनखानी पुग्नेबित्तिकै स्थानीयवासीले बाजागाजासहित उनको स्वागत गरे। जिल्ला प्रवेश गरेसँगै उनले आफ्नो जन्मस्थानस्थित कालिनाग मन्दिरमा पूजाअर्चना गरे।

त्यसपछि कालिनाग माध्यमिक विद्यालयमा आयोजित बधाइ तथा अभिनन्दन समारोहमा मन्त्री खरेलले प्राप्त सम्मानप्रति कृतज्ञता प्रकट गर्दै जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कालिञ्चोक गाउँपालिकाको कार्यालय निरीक्षण गरेपछि गाउँपालिका–७ मा आयोजित कार्यक्रममा समेत सहभागिता जनाए। सोही क्रममा उनले आफ्नो जन्म घर अवलोकन गर्दै १०२ वर्षका एक ज्येष्ठ नागरिकबाट आशिर्वाद पनि लिए।