काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ। आदेशसँगै प्रसाईं हिरासतबाट रिहा भएका छन्।
आइतबार न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै उनलाई तत्काल रिहा गर्न आदेश दिएको हो। अदालतले अभिव्यक्तिका आधारमा मात्र थुनामा राखिनु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन भएको टिप्पणी गरेको छ।
यसबाहेक सरकार र महाअभियानबीच शनिबार भएको सहमतिअनुसार कार्यक्रम शान्तिपूर्ण रूपमा सञ्चालन हुने अवस्था बनेकाले प्रसाईंमाथि लागेको आरोपमा थप तहकिकात वा हिरासत आवश्यक नरहेको ठहर गरिएको छ। सोसँगै जारी गरिएको पक्राउ पुर्जी तथा म्याद थपका प्रक्रियाहरू पनि बदर गरिएको अदालतले स्पष्ट गरेको छ।
प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पर्ने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मंसिर २ गते राति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। महाअभियानले मंसिर ७ गतेदेखि नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। तर शनिबार सरकारसँग भएको सहमतिअनुसार आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्।