काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार समूहले आज संयुक्त रूपमा पार्टी एकता घोषणा गर्ने भएका छन्।
नेसपा (नयाँ शक्ति)का प्रचार विभाग प्रमुख रेखी गुरुङका अनुसार काठमाडौँस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने वृहत् एकता घोषणासभाका सम्पूर्ण तयारी पूरा भइसकेका छन्। उनका अनुसार तीन प्रमुख समूहसँगै अन्य समान विचारधाराका समूहलाई पनि एउटै संरचनामा समेट्ने प्रयास भइरहेको छ।
यसअघि कात्तिक २८ गते नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबीच एकताको सहमतिपत्रमा हस्ताक्षर भएको थियो। आजको एकता सभामा नयाँ तथा वैकल्पिक राजनीतिक दलहरू, विभिन्न राजनीतिक समूह तथा प्रतिनिधिहरूलाई मात्र निम्तो दिइएको छ।
यसैबीच, नयाँ शक्ति विवेकशील साझा पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल तथा जेनजीका केही समूहहरूसँग पनि निरन्तर एकता संवाद गरिरहेको बताइएको छ।