काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्र निर्माणमा विस्तृत शान्ति सम्झौताले निर्णायक भूमिका खेलेको स्मरण गर्दै यस सम्झौताको मर्म पूरा गर्न अपिल गरेका छन् ।
विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष पुगेको अवसरमा जारी सन्देशमा दाहालले सामाजिक न्याय, सुशासन, आर्थिक समानता र समृद्धिका मुद्दा पूरा नभएसम्म जनयुद्ध र शान्ति सम्झौताको भावना अधुरै रहने बताए। उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासहित सबै जीवित हस्ताक्षरकर्ताहरूको योगदानको सम्मान व्यक्त गरे ।
सन्देशमा दाहालले नयाँ एकीकरण र ध्रुवीकरणबाट बनेको नेपाली कम्युनिष्ट पार्टीले शान्ति सम्झौतामा आफ्नो राजनीतिक स्वामित्व र जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएको उल्लेख छ।
संयोजक दाहालले शान्ति सम्झौताको मूल मर्म समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुक्त समावेशी गणतन्त्र स्थापना गर्नु रहेको बताउँदै वर्तमानमा ‘जेएनजी’ युवा पुस्ताले पनि यही मूल्य, भावना र स्पिरिटका साथ आवाज उठाइरहेको औँल्याए। “शान्ति सम्झौताको आत्माअनुरूप शासकीय प्रणाली, शासन सञ्चालन र संविधानमा आवश्यक परिमार्जन गर्न सके मात्र युवाको आकाङ्क्षा सम्बोधन गर्न सकिन्छ” उनले भने ।
पूर्वप्रधानमन्त्री दाहालले विगतको समीक्षा गर्दै समाजमा देखापरेका समस्या समाधान गर्न सबै पक्षको एकता आवश्यक रहेकोमा जोड दिए। साथै न्याय, समानता र स्वतन्त्रताका लागि बलिदान गर्ने सबै सहिद, बेपत्ता योद्धा, घाइते, अपाङ्ग तथा परिवारप्रति उच्च सम्मान व्यक्त गरे ।
नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक, भाषिक र क्षेत्रीय उत्पीडन अन्त्य गर्ने उद्देश्यसहित तत्कालीन माओवादी नेतृत्वमा सञ्चालित जनयुद्धलाई संस्थागत गर्ने सन्दर्भमा सरकार र विद्रोही पक्षबीच २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो।