काठमाडौँ । बुधबारदेखि तनावग्रस्त बनेको बाराको सिमराको स्थिति सामान्य हुँदै गएको छ। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार गएराति ८ बजेदेखि थप कफ्र्यु आदेश जारी गरिएको छैन।
जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार दिउँसो १ बजेदेखि राति ८ बजेसम्म सिमरा क्षेत्रमा कफ्र्यु जारी गरेको थियो। त्यसअघि पनि बुधबार दिनभर सिमरामा कफ्र्यु लागु भएको थियो।
घटनाको पृष्ठभूमिमा एमालेले सिमरामा आयोजना गर्न लागेको कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत जाने कुरा थाहा पाएपछि जेएनजी (जन–जागरण) समूहका युवाहरूले विरोध प्रदर्शन गरेका थिए। सो क्रममा सिमरा विमानस्थलको गेट तोडफोड भएको थियो भने स्थानीय एमाले कार्यकर्ताले प्रदर्शनकारीमाथि कुटपिट गरेको घटना समेत भएको थियो।
प्रहरीले कुटपिटमा संलग्न तीन जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ भने अझै तीन जनाको जाहेरी परे पनि उनीहरू पक्राउ परेका छैनन्।
बिहीबार पनि जेएनजीले घटनामा संलग्न सबैलाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका थिए। यस क्रममा पथलैया–वीरगञ्ज सडकखण्ड अवरुद्ध भएपछि प्रहरीले बल प्रयोग गर्नुपर्ने अवस्था आएपछि केहीबेर झडपसमेत भएको थियो।