शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन गराउने प्रधानमन्त्री कार्कीकाे प्रतिवद्धता

बिहिबार, मंसिर ४ २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सरकारको दृढ प्रतिवद्धता व्यक्त गरेकी छन्।

सिंहदरबारमा बुधबार राजनीतिक दलहरूसँग भएको छलफलपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यसबारे जानकारी दिए।

मन्त्री खरेलकाअनुसार प्रधानमन्त्री कार्कीले घोषित मितिमै निर्वाचन गराउन सरकार पूर्ण रूपमा तयार रहेको बताउँदै सबै राजनीतिक दललाई निर्वाचनमा सक्रिय सहभागिताका लागि आग्रह गरिन्।

उनका अनुसार सरकारले निर्वाचन सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक तयारी तीव्र गतिमा अघि बढाइरहेको छ।

बारामा भएको घटनाबारे टिप्पणी गर्दै मन्त्री खरेलले गृह मन्त्रालयको सक्रियताले ठूलो क्षति हुन नपाएको दाबी गरे।
उनले भने, “यस्ता सामान्य घटनाले निर्वाचन बिथोलिँदैन। मुलुकमा सुशासन र शान्तिपूर्ण वातावरण निर्माण गर्ने विषयमा सरकार स्पष्ट छ। यसका लागि सबै पक्षको सहयोग आवश्यक छ।”

मन्त्री खरेलका अनुसार प्रधानमन्त्रीले दलहरूलाई चुनावमा सहभागी हुन आधिकारिकरूपमा आह्वान गरिसकेकी छन्।“स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउने सरकारको तर्फबाट स्पष्ट प्रतिबद्धता छ,” उनले भने।

बुधबार बसेको छलफलमा सरकारले प्रतिनिधि सभा निर्वाचन तयारीबारे दलहरूको सुझाव लिएको थियो। दलहरूले सरकारको ध्यान स्थिर र सुरक्षित निर्वाचन वातावरण निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए।