बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अन्त्यहिन कांग्रेस महाधिवेशन विवाद, बैठक आज फेरि बस्दै

बिहिबार, मंसिर ४ २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक निरन्तर विवादबीच आज फेरि बस्दै छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिएको छ।

१५औँ महाधिवेशन कहिले गर्ने भन्ने अत्यन्त संवेदनशील विषयमा एक सातादेखि अनौपचारिक रूपमा सहमतिको प्रयास गरे पनि कुनै टुंगो न लागेको प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन्।

गत बिहीबारसम्म पदाधिकारी र सदस्यहरूले आ–आफ्नो धारणा राखेपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमतिको सम्भावना खोज्दै बैठक रोकेका थिए ।

शुक्रबारको छलफल परिणामविहीन भएपछि शनिबारका लागि बोलाइएको बैठक सहमति नजुटेकै कारण सोमबार सारियो। सोमबार पनि प्रगति नदेखिएपछि फेरि मंसिर ४ गतेका लागि बैठक तोकिएको हो।

प्रवक्ता महतका अनुसार दुवै समूह आफ्नै अडानमा अडिग रहेका कारण महाधिवेशनसम्बन्धी विवाद समाधानतर्फ अघि बढ्न सकेको छैन। “महामन्त्री पक्षले चुनावअघि महाधिवेशन हुनुपर्ने अडान लिएको छ भने संस्थापन पक्ष निर्वाचनपछि महाधिवेशन गर्ने प्रस्तावमा स्थिर छ,” उनले भने।

कात्तिक १९ गते महामन्त्री गगन थापाले पुस १६–१९ गते महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरे। त्यसको जवाफमा सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७–३० गते महाधिवेशनको प्रस्ताव अघि सारेका थिए। गगन समूहले आफ्नो कार्यतालिका अघि बढाएको र यादव पक्षलाई संस्थापनको समर्थन रहेको कारण महाधिवेशनको विषय कांग्रेसभित्र झनै जटिल बन्दै गएको छ।

थापाले २०७८ सालमा भएको १४औँ महाधिवेशनमा देउवालाई सभापति बन्न दिनु आफूले गरेको सबैभन्दा ठूलो राजनीतिक गल्ती भएको टिप्पणी गर्नुभएको छ। २०६८ सालदेखि युवा नेतृत्वलाई अघि ल्याउन अभियान चलाउँदै आएका थापाले आफ्नो अडानअनुसार काम गर्न नसकेर पछुतो लागेको स्वीकार गरे ।

उनले भने, “१४औँ महाधिवेशनमा देउवालाई सभापति बन्न दिनु नै ठूलो गल्ती भयो। म धेरै वर्षदेखि पुराना नेताहरूलाई बिदाइ गरेर युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने भन्छु। तर मैले नै उनकै महामन्त्री बनेर ठूलो गल्ती गरेँ।” पार्टीभित्र रहेका वरिष्ठ नेताहरूको प्रभावपूर्ण ‘जन्जिर’ तोड्न आफू असफल रहेको उनको स्वीकारोक्ति थियो।

कांग्रेसभित्र महाधिवेशनको समयबारे गम्भीर बहस चलिरहेका बेला थापाका यी अभिव्यक्तिले आन्तरिक सत्ता-सन्तुलनको द्वन्द्व अझै चर्किएको संकेत गरेका छन्।