शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मधेस प्रदेशका सभामुख मण्डल पदमुक्त

बिहिबार, मंसिर ४ २०८२

काठमाडौं । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव दुईतिहाइ बहुमतले पारित भएको छ।

बुधबार बसेको प्रदेशसभा बैठकमा ७८ मध्ये ७६ सांसदले सभामुखले पदअनुकूल आचरण प्रस्तुत नगरेको भन्ने प्रस्तावको पक्षमा मतदान गरेका हुन्। विपक्षमा एकमत पनि नपरेको उपसभामुख बबिता कुमारी राउत ईशरले जानकारी दिईन्।

उपसभामुखका अनुसार नेपालको संविधानको धारा १८२(६)(ग) तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८२(४) अनुसार अविश्वास प्रस्ताव पारित भएको क्षणदेखि नै सभामुख मण्डल स्वतः पदमुक्त भएका छन्।

कात्तिक २७ गते सातदलीय गठबन्धनका ६४ सांसदले प्रस्ताव दर्ता गरेका थिए। आजको बैठकमा छलफलपछि प्रस्ताव फिर्ता नलिएपछि मत विभाजनको प्रक्रिया अघि बढाइएको थियो। प्रदेशसभा बैठक अब मंसिर ४ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ।

बैठकमा नेकपा (एमाले) तर्फबाट प्रदेशसभा सदस्य शारदा थापा मात्र उपस्थित थिइन्। बैठकको सुरुवातमा उनले नियमापत्ति जनाएपछि १० मिनेट बैठक स्थगित भएको थियो। तर त्यसपछि उनी बैठकमा फर्किनन्।

गत २३ गतेको बैठक सञ्चालनका क्रममा सभामुख मण्डलले पदीय आचरणविपरीत काम गरेको भन्दै सात दलीय गठबन्धनले विरोध जनाउँदै अविश्वास प्रस्ताव अघि बढाएको थियो। मण्डलले यसअघिको पहिलो कार्यकालमा पनि पद खोइसकेका थिए। पहिलो कार्यकालमा माओवादी केन्द्रबाट निर्वाचित उनी वाम एकता विच्छेदपछि माओवादीमा नफर्किएर एमालेतर्फ गएका कारण साढे तीन वर्षमै पदमुक्त भएका थिए।