जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । उपसभामुख बबिता राउत इसरको निर्देशनअनुसार प्रदेशसभा सचिवालयले बैठक आह्वान गरेको हो ।
आजको बैठकको मुख्य एजेन्डा सभामुख रामचन्द्र मण्डलमाथि दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल रहनेछ । प्रदेशसभा बैठक सञ्चालनका लागि मङ्गलबार एमाले बाहेक विभिन्न दलका ३२ जना प्रदेशसभा सदस्यहरूले उपसभामुख इसरसामक्ष बैठक बोलाउन माग गरेका थिए ।
प्रदेशसभा नियमावलीअनुसार कुल सदस्यको २५ प्रतिशतले माग गरेमा बैठक बोलाउनुपर्ने व्यवस्था छ ।
गत कात्तिक २७ गते सातदलीय गठबन्धनका ७४ जना प्रदेशसभा सदस्यहरूले सभामुख मण्डलमाथि पदअनुकूल आचरण नभएको दाबी गर्दै महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।