शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बालाचतुर्दशी पर्व देशभर श्रद्धा–भक्तिसहित मनाइयो, पशुपति क्षेत्रमा शतबीज छर्ने भक्तजनको भीड

बुधबार, मंसिर ३ २०८२

काठमाडौँ । देशभरका शिव मन्दिर तथा पशुपति क्षेत्रमा आज शतबीज छरी बालाचतुर्दशी पर्व श्रद्धापूर्वक मनाइएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन पितृको मोक्ष, दिवंगत आत्माको चिरशान्ति र पारिवारिक कल्याणको कामनासहित बालाचतुर्दशी पर्व मनाउने परम्परा छ ।

बिहीबार साँझदेखि नै पशुपति क्षेत्रमा भक्तजनको असाधारण भीड लागेको थियो । श्रद्धालुहरूले श्लेषमान्तक वन, १०८ शिवलिङ्ग, कैलाशडाँडा, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर क्षेत्रमा पुगेर बीज छरेर दिवंगत आत्मालाई समर्पित पूजा–अर्चना गरे ।

त्रयोदशीको रात भक्तजनले पशुपतिनाथ परिसरमा महादीप बालेर भजनकीर्तन, धार्मिक झाँकी र जागरणसहित रातभर पूजा गरेको परम्परा यस वर्ष पनि निरन्तर रह्यो ।

हाल ‘शतबीज’को ठाउँमा सप्तबीज—धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो—छर्ने चलन छ । मृगस्थलीमा रहेको बहिरा गणेशको स्थानमा पुगेर शिलालाई हल्लाउँदै दिवंगत आत्माले सन्देश प्राप्त गरून् भनेर ठूलो स्वरमा प्रार्थना गरिन्छ । मान्यता छ—आज एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य प्राप्त हुन्छ र मृत आत्माले पनि मोक्ष लाभ गर्छ ।

पुराणअनुसार भगवान् शिव मृगरूप लिएर मृगस्थली क्षेत्रमा विहार गर्नुभयो । पार्वतीले शिवलाई चिन्ने उद्देश्यले विभिन्न बीज छरेको कथा यस पर्वको मूल आधार मानिन्छ ।

बालाचतुर्दशीसँग ‘बालासुर’को कथा पनि जोडिएको छ । किंवदन्तीअनुसार पशुपति क्षेत्रमा बस्ने बालानन्द नामक व्यक्तिले मृत शरीरको गिदी खान थालेपछि ऊ ‘बालासुर’ भनेर चिनियो । स्थानीयवासीले मित वृषसिंहमार्फत उनलाई मार्ने योजना बनाए ।

मितको हत्याबाट व्यथित वृषसिंहलाई भगवान् शिवले सपनामा दर्शन दिई मार्गकृष्ण चतुर्दशीका दिन शतबीज छर्नू भन्ने आदेश दिनुभयो । त्यसै अनुरूप शतबीज छरेपछि बालासुर वैतरणी तरेर गयो भन्ने मान्यता छ । यही घटना नै आजको बालाचतुर्दशी पर्वको धार्मिक आधार मानिन्छ ।

धर्मशास्त्रविद्हरूका अनुसार बालाचतुर्दशी दिवंगत आत्माको शान्ति, पुनर्जन्मको कल्याण तथा पितृको मोक्ष प्राप्तिका लागि अत्यन्त महत्वपूर्ण पर्व मानिन्छ ।