काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेन–जी युवाहरुलाई गाउँ फर्केर निर्वाचनमा भाग लिन र आफ्नै सरकार बनाएर माग पूरा गर्न सुझाएका छन् ।
सोमबार सिंहदरबारस्थित मन्त्रालयमा जेन–जी २.० समूहले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री पुनले केही मागहरु तत्काल पूरा गर्न नसकिने बताए।
उनले भने, “अब तिमीहरुले सबै माग पूरा गर्न चाहनुहुन्छ भने आफैँ चुनाव लड्नुहोस्, सरकार बनाउनुहोस् र त्यसपछि निर्णय गर्नुहोस्। यहाँ क्यामेरा तेर्साएर बस्ने होइन, गाउँ–गाउँमा गएर काम गर्नु पर्छ। केही माग विचार गर्न सकिन्छ, सबै पूरा गरिन सक्दैन।”
जेन–जी २.०ले प्राविधिक शिक्षा, सीटीईभिटीमा अध्ययन गर्ने विद्यार्थीका समस्याहरु समाधानका लागि एक हप्ताभित्र अल्टिमेटम दिइसकेको छ। उनीहरुले १६ वर्षको उमेरमा एस.ई.ई पास गरी सीटीईभिटीमा अध्ययन गर्दै देश तथा विदेशमा काम गरी जीविका चलाउने र देश विकासमा योगदान दिन चाहने विद्यार्थीका माग समाधान गर्न माग गरेका छन्।
यसै वर्ष, सीटीईभिटीको छनौट प्रक्रिया पूरा गरी स्टाफ नर्स पढ्न चाहने १० हजार विद्यार्थीलाई व्यवस्था मिलाउन पनि ज्ञापनपत्रमा माग गरिएको छ। विद्यार्थीहरुले समयमै माग पूरा नभए पछि हुने अवस्थाको जिम्मेवारी सीटीईभिटीको हुने चेतावनी दिएका छन्।